२० बैशाख २०८३, आईतवार

साढे ११ हजार तीर्थयात्रीको पाइला, रसुवागढी हुँदै कैलाश-मानसरोवर यात्रा पुनः गतिशील

रसुवा। हिन्दू, बौद्ध, बोन र जैन धर्मावलम्बीको साझा आस्थाको केन्द्र मानसरोवर तथा कैलाश पर्वतको तीर्थयात्रा रसुवागढी नाका हुँदै पुनः सुरु भएको छ। यसै याममा मात्र तीन सयभन्दा बढी तीर्थयात्री चीनको केरुङ नाका हुँदै पवित्र धामतर्फ प्रस्थान गरिसकेको अध्यागमन कार्यालय टिमुरेले जनाएको छ।

कार्यालयका निमित्त प्रमुख मेघनाथ शर्माका अनुसार यस वर्ष भारतीय, रुसी तथा बेलायती नागरिकसमेत यात्रामा सहभागी भएका छन्। गत वर्ष मात्र रसुवागढी नाका भएर ११ हजार ३८१ तीर्थयात्रीले कैलाश-मानसरोवरको दर्शन गरेको तथ्याङ्क छ।

तीर्थयात्री सङ्ख्या बढेसँगै भिसा शुल्कबाट हुने राजस्व सङ्कलनमा पनि उल्लेख्य वृद्धि भएको छ। चालु आर्थिक वर्षको नौ महिनामा मात्र ३० लाख रुपैयाँ राजस्व सङ्कलन भइसकेको छ। गत वर्षको कुल वार्षिक सङ्कलन भने ११ लाख २८ हजार २५० रुपैयाँ थियो।

धार्मिक ग्रन्थअनुसार भगवान् शिव र माता पार्वतीको निवास मानिने कैलाश पर्वतलाई ब्रह्माण्डको आध्यात्मिक केन्द्र मानिन्छ। पुरोहित उपेन्द्र मिश्रका अनुसार ब्रह्माले आफ्नो मनबाट सृष्टि गरेकाले यसको नाम मानसरोवर रहन गएको विश्वास छ। सरोवरमा स्नान गरे पापनाश र मोक्ष प्राप्त हुने धार्मिक आस्था छ। बौद्ध धर्ममा यो क्षेत्र ध्यान र आध्यात्मिक ऊर्जाको पवित्र स्थल हो भने जैन धर्मावलम्बीले पहिलो तीर्थङ्कर ऋषभदेवले ज्ञान प्राप्त गरेको स्थल मान्छन्।

काठमाडौँदेखि रसुवागढी करिब १३५ किलोमिटर, रसुवागढीदेखि केरुङ २५ किलोमिटर र केरुङबाट सागा हुँदै मानसरोवरसम्म ७५० देखि ८०० किलोमिटर दूरी रहेको छ। केरुङ प्रवेशपछि उच्च हिमाली भूभाग पार गर्दै मानसरोवर पुग्न तीनदेखि चार दिन लाग्छ। सम्पूर्ण कैलाश परिक्रमासहितको यात्रा भने १० देखि १४ दिनसम्म चल्ने फर्किएका यात्रु बताउँछन्।

यसैबीच, केरुङ आवतजावतका लागि रसुवावासीलाई उपलब्ध हुने सीमा परिचयपत्र वितरण पनि बढेको छ। चालु आवको नौ महिनामा ५९६ नयाँ र प्रतिलिपि तथा नवीकरणसहित कुल ६ हजार २९५ वटा सीमापास जारी गरिएको निमित्त प्रमुख शर्माले जानकारी दिए। अध्यागमन कार्यालय घट्टेखोलाका अनुसार रसुवावासीलाई नागरिकताको आधारमा र अन्य जिल्लाबाट बसाइँसराइ आउनेलाई जग्गाधनी पुर्जा, बसाइँसराइ प्रमाणपत्र तथा वडाध्यक्षको सिफारिसमा सीमापास दिने व्यवस्था छ।

तीर्थयात्रुको चहलपहल बढेसँगै रसुवागढी नाका आसपास होटल, यातायात, पथप्रदर्शक सेवा तथा स्थानीय व्यापार व्यवसाय सक्रिय हुन थालेका छन्। गोसाइँकुण्ड गाउँपालिका-२ का वडाध्यक्ष कामी छिरिङ तामाङले हिमालयको काखमा अवस्थित यो पवित्र तीर्थयात्रा पुनः गतिशील हुँदा नेपाल-चीन सीमावर्ती क्षेत्र धार्मिक पर्यटनको महत्त्वपूर्ण केन्द्रका रूपमा स्थापित हुँदै गएको बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button