एसिया छनोट र प्रिमियर कपका लागि नेपाली महिला क्रिकेट टोली घोषणा, कप्तानी इन्दुकै काँधमा

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिया खेलकुद छनोट र एसीसी महिला प्रिमियर कपका लागि आज १४ सदस्यीय नेपाली महिला राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ । वैकल्पिक खेलाडीमा चार जना राखिएको छ ।
टोलीको कप्तानी इन्दु बर्माले गर्नेछिन् भने उपकप्तानको जिम्मेवारी पूजा महतोलाई दिइएको छ । टोलीमा विन्दु रावल, सम्झना खड्का, रुवी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, सीता राना मगर, अनु कडायत, मनीषा उपाध्याय, रुविना क्षेत्री, सोनी पाख्रिन र सीमा केसी समावेश छन् ।
वैकल्पिक खेलाडीमा सावित्री धामी, सोमु विष्ट, सना प्रवीण र लक्ष्मी साउदलाई राखिएको क्यानले जनाएको छ । मलेसियामा हुने एसियन गेम्स छनोट यही मे २३ देखि ३१ तारिखसम्म सञ्चालन हुनेछ भने प्रिमियर कप आगामी जुन १ देखि १३ तारिखसम्म आयोजना हुनेछ ।





