२७ बैशाख २०८३, आईतवार

जीवन जोखिममा राखेर भीर मौरीको मह शिकार, परम्परा जोगाउँदै पर्यटक आकर्षित

लमजुङ । विश्वकै साहसिक र जोखिमयुक्त मानिने भीर मौरीको मह शिकार गण्डकी प्रदेशको लमजुङ, गोरखा र म्याग्दीलगायत जिल्लामा हुने गरेको छ । यसमध्ये लमजुङमा सबैभन्दा बढी भीर मौरीको शिकार हुने गरेको पाइन्छ ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ मिप्रागाउँ नजिकैको छिप्ली भीरमा झुन्डिएका भीर मौरीका चाकाबाट मह निकाल्न स्थानीयहरू ज्यान जोखिममा राखेर डोरीमा झुन्डिएर शिकार गर्छन् । यसले स्थानीयका साथै पर्यटकलाई समेत आकर्षित गरेको छ । गाउँको पुर्ख्यौली पेसाकै रूपमा अगाडि बढाउन सकिने गरी भीर मौरीको मह निकाल्ने कार्यमा आफूहरू संलग्न हुँदै आएको स्थानीय बताउँछन् ।

शिकारी टेकबहादुर गुरुङका अनुसार विगतमा ज्येष्ठ नागरिकको मात्र सहभागिता रहने मह निकाल्ने परम्परालाई जीवन्त राख्न पुस्ता हस्तान्तरणलाई प्राथमिकता दिइएको छ । ‘भीर मौरीको मह औषधिका रूपमा प्रयोग हुन्छ, औषधिका रूपमा उपयोग गर्न जोखिम मोलेर भीरबाट मह काढ्ने गरेका छौं,’ उनी भन्छन्, ‘भीर मौरीको महको माग पनि बढी छ ।’

उनका अनुसार वर्षमा दुई पटक मह निकालिन्छ । पहिलो चरणमा वैशाखको अन्तिम सातादेखि जेठको दोस्रो साताभित्र र दोस्रो चरणमा असोजको अन्तिम सातादेखि कात्तिकको दोस्रो साताभित्र मह निकालिसक्नुपर्ने हुन्छ । विशेष गरी शुक्रबार मात्र मह निकाल्ने चलन रहेको र मह धेरै भएको समयमा भने दुई दिन लगाएर निकाल्ने गरिएको उनी बताउँछन् ।

मौरीको शिकार गर्न तिथिमिति मिलाएर जङ्गलबाट निगालो ल्याई चोयाबाट लट्ठा बनाइन्छ । आगोमा तताउँदै तिनै लट्ठाबाट गाउँले मिलेर भर्याङ बनाउने गर्छन् । एक पटक बनाइएको भर्याङ तीन–चार वर्षसम्म प्रयोग गर्न सकिन्छ । यसरी बनाइएको भर्याङ राखेर गाउँले एकसाथ भीरमा मह शिकारका लागि जाने गर्छन् ।

विश्वकै साहसिक पेसाका रूपमा परिचय बनाएकाले मह शिकार हेर्न विदेशी पर्यटकको आकर्षण बढ्दै जानुका साथै यो गाउँको आयआर्जनको माध्यम बनेको शिकारी मीनबहादुर गुरुङ बताउँछन् । ‘पहिलापहिला त मुख मात्रै छोपेर मह निकालिन्थ्यो, अहिले त शरीर पूर्ण रूपमा छोपेर मह निकाल्ने गरेका छौं,’ उनी भन्छन्, ‘यसले जोखिमबाट जोगाएको छ ।’ मौरीले कम चिल्दा थेरापीको रूपमा काम गर्ने तर बढी चिलेमा मानिसको ज्यानै जान सक्ने जोखिम रहने उनी बताउँछन् ।

पर्यटकलाई आकर्षित गर्दै प्राकृतिक र साहसिक कार्यलाई जीवन्त राख्न निरन्तरता दिनुपर्ने टर्कीका नागरिक केमल बताउँछन् । ‘यस्तो चिल्ने मौरीको मह शिकार जोखिमयुक्त छ, तर यहाँका स्थानीयको साहसिकताले लोभ्यायो,’ उनी भन्छन्, ‘प्राकृतिक जोखिम मोलेजस्तै यसलाई आयआर्जनसँग जोड्न सक्नुपर्छ ।’

भीर मौरीको मह निकाल्ने परम्परा मात्र नभई मह औषधिजन्य भएकाले माग अझ बढी हुने गरेको छ । प्राकृतिक उपजका रूपमा विकास गर्दै आयआर्जनको माध्यम बनाउन यसको संरक्षण र प्रवर्द्धनमा सबैको ध्यान जानुपर्ने देखिन्छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button