२७ बैशाख २०८३, आईतवार

‘बेनामी उजुरीले क्रिकेट भत्काउन खोजियो’ : क्यान सचिव खड्का

विराटनगर । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले संघको नवीकरण नहुँदा राष्ट्रिय खेलकुद परिषदसँग निरन्तर समन्वय भइरहेको बताउँदै अख्तियारमा बेनामी उजुरी हालेर क्रिकेट भत्काउने प्रयास भएको आरोप लगाएका छन्।

आइतबार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै सचिव खड्काले नवीकरण प्रक्रियागत विषय भएको र कार्यव्यस्तताका कारण केही ढिलाइ भएको स्वीकार गरे। उनले भने, “एनपिएलको दोस्रो संस्करण सकिएसँगै आर्थिक पाटो ठूलो भएको छ। दुई संस्करणमा आठ टोलीको झन्डै साढे दुई सय करोड रुपैयाँ लगानी भइसकेको छ। यति ठूलो लगानी भएकाले सरकारसँग कर छुटका लागि निवेदन दिँदै छौं। यी सबै प्रक्रिया पूरा गर्दा समय लागेको हो।”

एनपिएलको आर्थिक विषयलाई सञ्चारमाध्यममा उचालिएकोप्रति असन्तुष्टि जनाउँदै खड्काले भने, “अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बेनामी उजुरी गरेर र बेथिति भयो भन्दै क्रिकेट विथोल्ने प्रयास भएको छ। तर, अब नेपाली क्रिकेट अघि बढ्छ।” उनले हिसाबकिताब हेर्न चाहनेलाई कार्यालयमै आउन आग्रह गरिएको बताए।

क्यानभित्रको विवादबारे खड्काले भने, “व्यक्तिगत रूपमा कसैलाई चित्त नबुझे उहाँहरूले आफ्नो बाटो रोज्नु भएको छ। यो क्यान परिवारभित्रै छलफल गरेर टुंग्याइने विषय हो।”

यसैबीच, त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानबारे सचिव खड्काले सरकारले उच्च प्राथमिकता दिएको बताए। गत वर्ष मात्र त्रिवि मैदानमा करिब सय करोड रुपैयाँ लगानी भएको उल्लेख गर्दै उनले मूलपानी र बैजनाथपुर मैदानलाई पनि बजेट उपलब्ध गराउने अपेक्षा गरे। “क्रिकेटको जग बलियो बनाउने क्रम जारी छ,” उनले भने।

दुई दिन चल्ने क्यानको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण प्रतिवेदन, सन् २०२६ को वार्षिक कार्यक्रम तथा बजेट र एनपिएलका पहिलो दुई संस्करण अनुमोदन गर्ने खड्काले जानकारी दिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button