२८ बैशाख २०८३, सोमबार

चन्द्र ज्योतिको शानदार सुरुआत, अशोक स्मृति कपमा सिमलघारी २–० ले पराजित

खजुरा (बाँके) । प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिताको दोस्रो दिन सोमबार चन्द्र ज्योति युवा क्लबले सिमलघारी एफसीलाई २–० ले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।

खजुरा गाउँपालिका–४ डी गाउँस्थित मिनि रंगशालामा भएको खेलमा चन्द्र ज्योतिका विशाल चन्दले ३५औं मिनेटमा पहिलो गोल गरेका थिए भने रोशन रानामगरले ४४औं मिनेटमा दोस्रो गोल थपे । उत्कृष्ट प्रदर्शन गरेका रोशन प्लेयर अफ द म्याच घोषित भए । उनलाई अन्तर्राष्ट्रिय खेलाडी शंकर गिरी र प्रतियोगिता संयोजक तथा वडा नम्बर ४ का निवर्तमान अध्यक्ष तिलकवीर सुनारले पुरस्कृत गरे ।

श्री दि फेमस महिन्द्र दल गण भूतपूर्व सैनिक संघ बाँकेको आयोजना, सुन्दर विहानी युवा क्लब जानकी–४ को सहआयोजना र ब्रदर्श एफसीको विशेष सहयोगमा सञ्चालित प्रतियोगितामा १२ टिम सहभागी छन् । जेठ ३ गतेसम्म चल्ने प्रतिस्पर्धामा २० वर्ष उमेर समूहका खेलाडीले भाग लिएका छन् । एलिसा ज्वैलर्स मुख्य प्रायोजक रहेको प्रतियोगिताको विजेताले ५१ हजार, उपविजेताले ३१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक अध्यक्ष कृष्णलाल गिरीले जानकारी दिए ।

प्रतियोगिताको प्रथम पुरस्कार रकम अमेरिका निवासी समाजसेवी लीलबहादुर थापाले प्रायोजन गरेका छन् भने प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई फायर फास्ट फुड एण्ड रेस्टुरेन्टले एक हजार रुपैयाँ प्रदान गर्दैछ । मंगलबार धम्बोझी एफसी र न्यु दर्पण स्पोर्टस क्लबबीच प्रतिस्पर्धा हुने संयोजक सुनारले बताए ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button