३० बैशाख २०८३, बुधबार

अशोक स्मृति कपमा धम्बोझी क्लबको जित, गोलकिपर परियार प्लेयर अफ द म्याच

खजुरा (बाँके) । खजुरा गाउँपालिका–४ डी गाउँस्थित मिनि रङ्गशाला मैदानमा जारी प्रथम अशोक स्मृति कप (यू–२०) फुटबल प्रतियोगितामा नेपालगन्जको धम्बोझी क्लबले जित हासिल गरेको छ। धम्बोझीले न्यू दर्पण स्पोर्ट्स क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गरेको हो। निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो।

खेलमा उत्कृष्ट प्रदर्शन गर्ने धम्बोझीका गोलकिपर नवीनराज परियार प्लेयर अफ द म्याच घोषित भए। उनलाई आयोजक श्री दि फेमस महिन्द्र दल गण भूतपूर्व सैनिक सङ्घ बाँकेका अध्यक्ष कृष्णलाल गिरी र प्रतियोगिता संयोजक एवं खजुरा गाउँपालिका वडा नम्बर ४ का निर्वतमान वडा अध्यक्ष तिलकवीर सुनारले पुरस्कृत गरे।

श्री दि फेमस महिन्द्र दल गण भूतपूर्व सैनिक सङ्घ बाँकेको आयोजना, सुन्दर विहानी युवा क्लब जानकी गाउँपालिका–४, बाँकेको सह–आयोजना र ब्रदर्स एफसीको विशेष सहयोगमा भइरहेको प्रतियोगितालाई एलिसा ज्वैलर्सले मुख्य प्रायोजन गरेको छ। जेठ ३ गतेसम्म चल्ने प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ।

पूर्व फुटबल खेलाडी स्वर्गीय अशोक विकको स्मृतिमा आयोजित प्रतियोगितामा २० वर्ष उमेर समूहका खेलाडीहरू सहभागी छन्। प्रतियोगिताको विजेताले ५१ हजार र उपविजेताले ३१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक अध्यक्ष गिरीले जानकारी दिए। सर्वोत्कृष्ट खेलाडीले ५ हजार, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही २ हजार ५ सय रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउनेछन्।

प्रतियोगिताको प्रथम पुरस्कार ५१ हजार रुपैयाँ खजुरा गाउँपालिका–४ निवासी हाल अमेरिकामा रहनुभएका समाजसेवी तथा खेलप्रेमी लीलबहादुर थापाले प्रायोजन गरेको संयोजक सुनारले जानकारी दिए। प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई फायर फास्ट फुड एन्ड रेस्टुरेन्टले जनही १ हजार रुपैयाँ प्रायोजन गरेको छ।

प्रतियोगिताअन्तर्गत बुधबार योगिनी युवा क्लब र बागमती युवा क्लबबीच प्रतिस्पर्धा हुने संयोजक सुनारले जानकारी दिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button