३० बैशाख २०८३, बुधबार

२१ वर्षपछि च्याम्पियन्स लिगमा बेटिस, सेल्टाको आशा समाप्त

मड्रिड । रियल बेटिसले मङ्गलबार राति एल्चेलाई घरेलु मैदानमा २–१ ले पराजित गर्दै ला लिगामा पाँचौं स्थान पक्का गरेको छ र आगामी सिजनको युइएफए च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको छ। यता, सेल्टा भिगो भने लेभान्टेसँग घरेलु मैदानमै ३–२ ले पराजित हुँदा च्याम्पियन्स लिग पुग्ने सम्भावना समाप्त भएको छ।

बेटिसका लागि पाब्लो फोर्नाल्स उत्कृष्ट प्रदर्शन गर्दै नायक बने। उनले नवौं मिनेटमा कुचो हर्नान्डेजलाई पहिलो गोलका लागि अवसर सिर्जना गरे भने ६८औं मिनेटमा पेनाल्टी क्षेत्रबाहिरबाट उत्कृष्ट घुमाउरो प्रहार गर्दै निर्णायक गोल गरे।

४१औं मिनेटमा हेक्टर फोर्टमार्फत एल्चेले बराबरी गरेको थियो। तर, एन्टोनीमाथि ढिलो चुनौती दिएपछि लियो पेट्रोटले सिधा रातो कार्ड पाएर मैदान छाड्नुपरेपछि एल्चेको पुनरागमनको सम्भावनामा ठूलो धक्का लाग्यो। यो नतिजाले बेटिसले २१ वर्षपछि च्याम्पियन्स लिगमा स्थान बनाएको पुष्टि गरेको छ।

लेभान्टेले सेल्टा भिगोलाई हराउँदै रेलिगेसन क्षेत्रबाट बाहिर निस्कने क्रममा महत्त्वपूर्ण जित हात पारेको छ। फेरान जुटग्लाले चौथो र ४८औं मिनेटमा गोल गर्दै सेल्टालाई दुई पटक अग्रता दिलाए पनि केर्भिन अरियागा र एड्रियन डे ला फुएन्तेले दुई पटक बराबरी गरे। अन्त्यमा रोजर ब्रुगेले लेभान्टेका लागि निर्णायक गोल गरे।

यसैबीच, एट्लेटिको मड्रिडले ओसासुनालाई उसकै मैदानमा २–१ ले पराजित गर्यो। एडेमोला लुकम्यान र अलेक्जेन्डर सोर्लोथले एट्लेटिकोका लागि गोल गरे। ३७औं मिनेटमा ओसासुनाका विङ्गर राउल मोरो चोटका कारण मैदान छाड्न बाध्य भए भने ७९औं मिनेटमा मार्कोस योरेन्टेले दोस्रो पहेँलो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा सीमित भयो। ९१औं मिनेटमा किके बार्जाले ओसासुनाका लागि गोल फर्काए पनि बराबरीका लागि समय पर्याप्त भएन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button