खजुरामा जारी अशोक स्मृति कप : न्यु बागमतिले योगिनीलाई १–० ले हरायो, शाही नायक

खजुरा (बाँके) । न्यु बागमति युवा क्लबले प्रथम अशोक स्मृति कप (यु–२०) फुटबल प्रतियोगितामा सफलता हात पारेको छ। खजुरा गाउँपालिका–४ डी गाउँस्थित मिनि रंगशालामा बुधबार भएको खेलमा न्यु बागमतिले योगिनी युवा क्लबलाई १–० गोल अन्तरले पराजित गर्यो।
खेलको ४८औं मिनेटमा अनिपाल शाहीले गरेको गोल नै निर्णायक बन्यो। उत्कृष्ट प्रदर्शन गरेका शाही प्लेयर अफ द म्याच घोषित भए। उनलाई आयोजक श्री दि फेमस महिन्द्र दल गण भू.पू. संघ बाँकेका अध्यक्ष कृष्णलाल गिरी र प्रतियोगिता संयोजकसमेत रहेका खजुरा–४ का निवर्तमान वडा अध्यक्ष तिलकवीर सुनारलगायतले पुरस्कृत गरे।
श्री दि फेमस महिन्द्र दल गण भू.पू. संघ बाँकेको आयोजना, सुन्दर विहानी युवा क्लब जानकी–४ को सह–आयोजना र ब्रदर्श एफसीको विशेष सहयोगमा सञ्चालित प्रतियोगिताको मुख्य प्रायोजन एलिसा ज्वैलर्सले गरेको छ। जेठ ३ गतेसम्म चल्ने प्रतियोगितामा १२ टोली सहभागी छन्। पूर्व फुटबल खेलाडी स्व. अशोक विकको स्मृतिमा आयोजित प्रतियोगितामा २० वर्ष उमेर समूहका खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन्।
प्रतियोगिताको विजेताले ५१ हजार, उपविजेताले ३१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक अध्यक्ष गिरीले जानकारी दिए। सर्वोत्कृष्ट खेलाडीले ५ हजार, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही २५ सय रुपैयाँ तथा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रथम पुरस्कार रकम खजुरा–४ निवासी हाल अमेरिकामा रहेका समाजसेवी एवं खेलप्रेमी लीलबहादुर थापाले प्रायोजन गरेको संयोजक सुनारले बताए। प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई फायर फास्ट फुड एण्ड रेस्टुरेन्टले जनही १ हजार रुपैयाँ प्रायोजन गरेको छ।
प्रतियोगितामा कालिका युवा क्लब, न्यु डाँफे स्पोर्टस क्लब, मोडेल एफसी, धम्बोझी एफसी, न्यु दर्पण स्पोर्टस क्लब, ब्रदर्श एफसी, सिमलघारी, चन्द्र ज्योति, खजुरा–११ (आयोजक), योगिनी युवा क्लब, बागमति युवा क्लब र महिन्द्र दल गण भू.पू. गरी १२ टोली सहभागी छन्। बिहीबारको खेलमा आयोजक खजुरा–११ र चन्द्र ज्योति युवा क्लबबीच प्रतिस्पर्धा हुने संयोजक सुनारले जानकारी दिए।





