१८ असार २०८३, बिहीबार

अशोक स्मृति कपमा ब्रदर्स एफसी र चन्द्र ज्योति सेमिफाइनलमा, ब्रदर्सका करण बैगार प्लेयर अफ द म्याच

खजुरा (बाँके) । ब्रदर्स एफसी र चन्द्र ज्योति युवा क्लब प्रथम अशोक स्मृति कप (यू–२०) फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

खजुरा गाउँपालिका–४ डी गाउँस्थित मिनि रङ्गशाला मैदानमा बिहीबार भएको खेलमा ब्रदर्स एफसीले धम्बोझी क्लबलाई २–१ ले पराजित गर्यो। ब्रदर्सको जितमा समीर गुरुङले सुरुआती ३० सेकेन्डमै गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए भने करण बैगारले खेलको ६ मिनेटमा दोस्रो गोल थपे। उत्कृष्ट प्रदर्शन गरेका बैगार प्लेयर अफ द म्याच घोषित भए।

यसैगरी, अर्को खेलमा चन्द्र ज्योतिले खजुरा–११ लाई ४–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो। चन्द्र ज्योतिका अविशेक थापाले खेलको ६ र ९ औं मिनेटमा दुई गोल गरे भने अर्जुन चलाउनेले २३ औं मिनेटमा र विकास थारुले ३७ औं मिनेटमा एक–एक गोल थपे। अविशेक थापा प्लेयर अफ द म्याच घोषित भए।

दुवै खेलका प्लेयर अफ द म्याचलाई आयोजक श्री दि फेमस महिन्द्र दल गण भूतपूर्व सैनिक सङ्घ बाँकेका अध्यक्ष कृष्णलाल गिरी र प्रतियोगिता संयोजक एवं खजुरा गाउँपालिका वडा नम्बर ४ का निर्वतमान वडा अध्यक्ष तिलकवीर सुनारलगायतले पुरस्कृत गरे।

श्री दि फेमस महिन्द्र दल गण भूतपूर्व सैनिक सङ्घ बाँकेको आयोजना, सुन्दर विहानी युवा क्लब जानकी गाउँपालिका–४, बाँकेको सह–आयोजना र ब्रदर्स एफसीको विशेष सहयोगमा भइरहेको प्रतियोगितालाई एलिसा ज्वैलर्सले मुख्य प्रायोजन गरेको छ। जेठ ३ गतेसम्म चल्ने प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ। पूर्व फुटबल खेलाडी स्वर्गीय अशोक विकको स्मृतिमा आयोजित प्रतियोगितामा २० वर्ष उमेर समूहका खेलाडी सहभागी छन्।

विजेता टिमले ५१ हजार रुपैयाँ र उपविजेताले ३१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक अध्यक्ष गिरीले जानकारी दिए। सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही २ हजार ५ सय रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। प्रथम पुरस्कार रकम खजुरा गाउँपालिका–४ निवासी हाल अमेरिकामा रहेका समाजसेवी तथा खेलप्रेमी लीलबहादुर थापाले प्रायोजन गरेका छन् भने प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई फायर फास्ट फुड एन्ड रेस्टुरेन्टले जनही १ हजार रुपैयाँ प्रायोजन गरेको छ।

प्रतियोगिताअन्तर्गत जेठ १ गते न्यू डाँफे स्पोर्ट्स क्लब र मोडेल एफसी तथा अर्को खेलमा बागमती युवा क्लब र महिन्द्र दल गण भूतपूर्व सैनिक टिमबीच प्रतिस्पर्धा हुने संयोजक सुनारले जानकारी दिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button