महिन्द्र दल र न्यु डाँफे अशोक स्मृति कपको सेमिफाइनलमा

खजुरा (बाँके) । आयोजक महिन्द्र दल गण भुपु र न्यु डाँफे स्पोर्टस क्लब प्रथम अशोक स्मृति कप (यु–२०) फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।
खजुरा गाउँपालिका–४ डी गाउँस्थित मिनि रंगशालामा शुक्रबार भएको खेलमा महिन्द्र दल गणले बागमति युवा क्लबलाई २–१ ले पराजित गर्यो। महिन्द्रको जितमा आरोस लोक क्षेत्रीले दुई गोल गरे। उनले खेलको १२औं र ३८औं मिनेटमा गोल गरेका थिए। बागमतिका सन्दिप जिएमले तीन मिनेटको इन्जुरी समयमा एक गोल फर्काए पनि हार टार्न सकेनन्।
अर्को खेलमा न्यु डाँफेले मोडेल एफसीलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गर्यो। महिन्द्रका आरोस लोक र न्यु डाँफेका सुदिप विक म्यान अफ द म्याच घोषित भए। उनीहरूलाई आयोजक श्री दि फेमस महिन्द्र दल गण भुपु संघ बाँकेका अध्यक्ष कृष्णलाल गिरी, प्रतियोगिता संयोजक एवं वडा नम्बर ४ का निवर्तमान अध्यक्ष तिलकवीर सुनार तथा पूर्व राष्ट्रिय खेलाडीले पुरस्कृत गरे।
एलिसा ज्वैलर्सको मुख्य प्रायोजन, सुन्दर विहानी युवा क्लबको सहआयोजना र ब्रदर्श एफसीको विशेष सहयोगमा सञ्चालित प्रतियोगितामा १२ टिम सहभागी छन्। स्व. पूर्व फुटबल खेलाडी अशोक विकको स्मृतिमा आयोजित प्रतिस्पर्धाको विजेताले ५१ हजार, उपविजेताले ३१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। प्रथम पुरस्कार रकम अमेरिका निवासी समाजसेवी लीलबहादुर थापाले प्रायोजन गरेका छन्।
प्रतियोगिताअन्तर्गत जेठ २ गते पहिलो सेमिफाइनलमा न्यु डाँफे र ब्रदर्श एफसी तथा दोस्रो सेमिफाइनलमा आयोजक महिन्द्र दल गण र चन्द्र ज्योति युवा क्लबबीच प्रतिस्पर्धा हुने संयोजक सुनारले जानकारी दिए।





