१८ असार २०८३, बिहीबार

आर्मी छाडेर एपीएफ पुगेकी निरुता बनिन् राष्ट्रिय टोलीकी छैटौं कप्तान

काठमाडौं । नेपाल एपीएफ क्लबकी निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल टोलीको कप्तान बनेकी छन्। राष्ट्रिय टोलीलाई नेतृत्व गर्ने उनी छैटौं कप्तान हुन्। प्रमुख प्रशिक्षक जगदीश भट्टको सिफारिसमा नेपाल भलिबल संघको कार्यसमिति बैठकले शुक्रबार निरुतालाई कप्तानका लागि अनुमोदन गरेको थियो।

टोलीमा रहेका सिनियर खेलाडी उषा भण्डारी र सलिना श्रेष्ठ पनि दाबेदार थिए। तर, उनीहरूभन्दा उमेरले परिपक्व र अन्तर्राष्ट्रिय खेल अनुभवका कारण निरुताले कप्तानीको जिम्मेवारी पाएकी हुन्। पछिल्लो समय पूर्वकप्तान अरुणा शाही अस्ट्रेलिया लागेपछि राष्ट्रिय टोली नेतृत्वविहीन थियो। नेपाली महिला भलिबल टोलीलाई यसअघि हेमा प्रधान, सुष्मा थापा, अञ्जु श्रेष्ठ, विनिता बुढाथोकी र अरुणा शाहीले नेतृत्व गरिसकेका छन्।

दार्चुला नौगाडकी निरुताको भलिबल यात्रा राष्ट्रपति रनिङ सिल्डबाट सुरु भएको हो। २०७३ सालदेखि उनले भलिबल खेल्न थालिन्। त्यसअघि उनी एथलेटिक्सकी खेलाडी थिइन्। एक जना गुरुको सल्लाहमा उनी रनिङ सिल्डकै भलिबलतर्फ लागेकी थिइन्। त्यसपछि उनी भलिबलबाट टाढा हुन सकेकी छैनन्। सात वर्षयता निरुता निरन्तर राष्ट्रिय टोलीबाट खेलिरहेकी छन्।

कुनै बेला सुदूरपश्चिम टोलीबाट खेल्ने निरुताको प्रतिभालाई नियालेका प्रशिक्षक भट्टले त्रिभुवन आर्मी क्लबसँग आवद्ध गराए। झन्डै दुई वर्ष आर्मीमा बिताएपछि उनी एपीएफमा पुगिन्। अहिले उनी एपीएफकी कप्तान पनि हुन्। उनले एपीएफलाई तीन पटक टाइगर कप, नवौं राष्ट्रिय खेलकुद, ढोरपाटन डबल लिग च्याम्पियनसिप, प्रधानमन्त्री कप र एनभीए क्लब च्याम्पियनसिपलगायत दर्जन प्रतियोगिता जिताइसकेकी छन्।

सन् २०१९ मा एसियन सिनियर वुमेन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपबाट निरुताले राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन्। किर्गिस्तान, बंगलादेश र अफगानिस्तानविरुद्धको प्रतिस्पर्धामा नेपाली टोली च्याम्पियन बनेको थियो। त्यसलगत्तै १३औं दक्षिण एसियाली खेलकुद (साग) मा अरुणाको कप्तानीमा नेपालले जितेको ऐतिहासिक रजत पदकमा निरुता टोलीकी सदस्य थिइन्। उनीसँग १९औं एसियाली खेलकुद, काभा वुमेन्स भलिबल लिगमा उपविजेता र काभा वुमेन्स च्यालेन्ज कपमा तेस्रो भएको अनुभव छ। गत वर्ष माल्दिभ्समा भएको काभा वुमेन्स क्लब च्याम्पियनसिपमा पनि उनको टोली विजेता बनेको थियो। धेरै पटक उत्कृष्ट खेलाडीबाट पुरस्कृत निरुता एभरेस्ट महिला फ्रेन्चाइज लिगमा मधेश युनाइटेडकी मार्की खेलाडी हुन्।

आसन्न काभा च्याम्पियनसिपमा भने निरुताले आधा दर्जन नयाँ खेलाडी सम्हाल्नुपर्ने चुनौती छ। विगतमा उपलब्धि दिलाएका सरस्वती चौधरी, प्रतिभा माली, साफिया पुन, कविता भट्ट र पुनम चन्दजस्ता खेलाडी अस्ट्रेलिया पुगिसकेका छन्।

कप्तान नियुक्तिपछि निरुताले भनिन्, “राष्ट्रिय टोलीलाई नेतृत्व दिन पाउनु नै मेरा लागि ठूलो अवसर हो। यो मेरो कल्पनाबाहिरको कुरा हो। यो जिम्मेवारीलाई सफलतापूर्वक अगाडि बढाउन सक्छु भन्ने विश्वास छ।” उनले टोली, प्रशिक्षक र संघ सबैको सहयोगमा चुनौती पार गर्ने विश्वास दिलाउँदै भनिन्, “टोली र देशको प्रतिष्ठा बढाउन आफूले सक्दो मिहिनेत गर्नेछु।”

काभामा नेपालले ठूलो चुनौती सामना गर्नुपर्नेछ। दुई पटकको च्याम्पियन नेपाललाई घरेलु भूमिमा उपाधि जित्ने अवसर छ। तर, नेपाल रहेको ‘ए’ समूहमा निकट प्रतिद्वन्द्वी भारत, किर्गिस्तान र माल्दिभ्स छन्। अर्को ‘बी’ समूहमा इरान, श्रीलंका, बंगलादेश र काजकिस्तान रहेका छन्। महिला टोलीले ८–१५ जेठमा त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने प्रतियोगिता खेल्नेछ। निरुताको कप्तानी डेब्यु पनि काभामै हुनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button