रेफ्री निर्णय विवादमा ब्रदर्स एफसी–न्यू डाँफे खेल स्थगित, ब्रदर्सद्वारा पुनरावलोकन माग

खजुरा (बाँके) । खजुरामा जारी प्रथम अशोक स्मृति कप यू–२० फुटबल प्रतियोगिताअन्तर्गत ब्रदर्स एफसी र न्यू डाँफे स्पोर्ट्स क्लबबीचको खेल रेफ्री निर्णय विवादका कारण स्थगित भएको छ।
खजुरा गाउँपालिका–४ डी गाउँस्थित मिनि रङ्गशाला मैदानमा शनिबार भएको प्रतिस्पर्धामा पहिलो हाफमा न्यू डाँफे स्पोर्ट्स क्लबले एक गोल गर्दै अग्रता लिएको थियो। दोस्रो हाफपछि दुवै टिमका खेलाडीबीच धकेलाधकेल भएपछि खेलमा विवाद सिर्जना भएको थियो।
विवादकै क्रममा खेल सञ्चालन गरिरहेका रेफ्रीले ब्रदर्स एफसीका एक खेलाडीलाई रातो कार्ड देखाएका थिए। तर, ब्रदर्स एफसीका अनुसार विवाद सिर्जनामा संलग्न देखिएका न्यू डाँफे स्पोर्ट्स क्लबका खेलाडीलाई भने पहेंलो कार्ड मात्र देखाइएपछि क्लबले निर्णयप्रति गम्भीर आपत्ति जनाएको हो।

ब्रदर्स एफसीले रेफ्रीको निर्णय पक्षपातपूर्ण भएको आरोप लगाउँदै आयोजक समितिसमक्ष विरोधपत्र दर्ता गराएको छ। क्लबले खेल सञ्चालन गर्ने रेफ्रीसँग आधिकारिक रेफ्री लाइसेन्स नरहेको दाबी गर्दै उनको नियुक्ति प्रक्रिया, योग्यता र निर्णयको वैधताबारे स्पष्टता माग गरेको छ।
विरोधपत्रमा ब्रदर्स एफसीले आजको खेल सञ्चालन गर्ने रेफ्रीको नाम, नियुक्ति प्रक्रिया र लाइसेन्ससम्बन्धी विवरण सार्वजनिक गर्न माग गरेको छ। साथै, विवादको भिडियो, प्रत्यक्षदर्शी, टिम प्रतिनिधि र अफिसियलहरूको बयानका आधारमा कार्ड निर्णय पुनरावलोकन गर्न आग्रह गरिएको छ।
क्लबले आफ्ना खेलाडीलाई देखाइएको रातो कार्ड छानबिन पूरा नभएसम्म कार्यान्वयन नगर्न, विवादमा संलग्न दुवै पक्षका खेलाडीमाथि समान मापदण्डका आधारमा निर्णय गर्न तथा स्थगित खेलको बाँकी प्रक्रिया प्रतियोगिता नियमावलीअनुसार निष्पक्ष आधिकारिक रेफ्रीमार्फत अघि बढाउन माग गरेको छ।
ब्रदर्स एफसीले आगामी खेलहरूमा लाइसेन्स प्राप्त वा आयोजकद्वारा औपचारिक रूपमा प्रमाणित रेफ्री मात्र प्रयोग गर्नुपर्ने जनाएको छ। क्लबले आफ्नो विरोध कुनै व्यक्ति विशेषविरुद्ध नभई खेलको निष्पक्षता, समान नियम प्रयोग र प्रतियोगिताको विश्वसनीयताका पक्षमा रहेको स्पष्ट पारेको छ।
विवादपछि शनिबारको खेल स्थगित गरिएको छ। आयोजक समितिले आइतबार बिहान ६ बजे दुवै टिमलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ। उक्त बैठकमा रेड कार्ड, रेफ्रीको वैधता, खेल निर्णयको पुनरावलोकन र स्थगित खेलको आगामी प्रक्रियाबारे छलफल हुने बताइएको छ।
पूर्व फुटबल खेलाडी स्वर्गीय अशोक विकको स्मृतिमा आयोजित प्रतियोगिता श्री दि फेमस महिन्द्र दल गण भूतपूर्व सैनिक सङ्घ बाँकेको आयोजना, सुन्दर विहानी युवा क्लब जानकी गाउँपालिका–४ बाँकेको सह–आयोजना र ब्रदर्स एफसीको विशेष सहयोगमा सञ्चालन भइरहेको छ।
प्रतियोगितामा २० वर्ष उमेर समूहका खेलाडी सहभागी छन्। जेठ ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ। विजेता टिमले ५१ हजार रुपैयाँ र उपविजेताले ३१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।





