उमेर विवादपछि न्यू डाँफे प्रतियोगिताबाट बाहिर, ब्रदर्स एफसी फाइनलमा

खजुरा, बाँके। खजुरामा जारी प्रथम अशोक स्मृति कप यू–२० फुटबल प्रतियोगितामा उमेरसम्बन्धी गम्भीर अनियमितता पुष्टि भएपछि न्यू डाँफे स्पोर्ट्स क्लबलाई प्रतियोगिताबाट बाहिर गरिएको छ। आयोजक समितिको उक्त निर्णयसँगै ब्रदर्स एफसी फाइनलमा प्रवेश गरेको छ।
ब्रदर्स एफसीले न्यू डाँफे स्पोर्ट्स क्लबका खेलाडी अरुण चलाउनेको उमेरसम्बन्धी विवरणमा स्पष्ट अन्तरविरोध रहेको भन्दै प्रमाणसहित आयोजक समितिसमक्ष लिखित विरोध दर्ता गराएको थियो। विभिन्न कागजातमा ती खेलाडीको जन्ममिति फरक–फरक उल्लेख भएको पाइएको थियो। यू–२० उमेर समूहका लागि निर्धारित मापदण्ड पूरा नगर्ने खेलाडी सहभागी गराइएको ब्रदर्स एफसीको दाबी थियो।

आयोजक समितिले ब्रदर्स एफसीले बुझाएको प्रमाणको अध्ययन तथा आवश्यक छानबिन गरेको थियो। छानबिनका क्रममा उमेरसम्बन्धी अनियमितता पुष्टि भएपछि न्यू डाँफे स्पोर्ट्स क्लबलाई प्रतियोगिताबाट बाहिर गर्ने निर्णय गरिएको हो।
ब्रदर्स एफसीका अध्यक्ष विवेक सागर पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो विरोध कुनै खेलाडी वा क्लबलाई व्यक्तिगत रूपमा लक्षित गर्ने उद्देश्यले नभई प्रतियोगिताको नियम, उमेर मापदण्ड र सबै टिमका लागि समान अवसर सुनिश्चित गर्ने उद्देश्यले गरिएको हो।’ प्रतियोगिताको गरिमा कायम राख्दै निष्पक्ष निर्णय लिएकोमा ब्रदर्स एफसीले आयोजक समितिप्रति धन्यवाद व्यक्त गरेको छ।

साथै, आगामी दिनमा यस्ता विवाद दोहोरिन नदिन खेलाडी दर्ता, उमेर प्रमाणीकरण र कागजात परीक्षण प्रक्रियालाई अझ व्यवस्थित, पारदर्शी र कडाइका साथ लागू गर्न आयोजक समितिलाई ब्रदर्स एफसीले आग्रह गरेको छ।





