नेपालगन्ज म्याराथनलाई प्रतिष्ठित ‘एम्स सोसल अवार्ड’

काठमाडौँ। विश्वव्यापी दौड प्रतियोगिताहरूको साझा संस्था एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) ले नेपालको धारा नेपालगन्ज म्याराथनलाई यस वर्षको ‘एम्स सोसल अवार्ड’ प्रदान गर्ने निर्णय गरेको छ। संसारभरका दौड आयोजकहरूमध्येबाट छनोट हुने यो एम्सको निकै प्रतिष्ठित सम्मान मानिन्छ।
नर्वेको ट्रम्सोमा यही जुन १८ देखि २० सम्म आयोजना हुने एम्सको २५औँ विश्व काङ्ग्रेसमा उक्त अवार्ड प्रदान गरिने छ। छनोट समिति संयोजक एवं एम्स उपाध्यक्ष मार्था मोरालेसबाट अवार्डबारे जानकारी र बधाई प्राप्त भएको नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले जानकारी दिए।
यसअघि सन् २०१३ मा ग्रेट इथोपियन रन (इथोपिया), २०१४ मा टोकियो म्याराथन (जापान), २०१५ मा म्याराथन इन्टरनेसनल लाला (मेक्सिको), २०१६ मा म्युनिख म्याराथन (जर्मनी), २०१७ मा म्याराथन दि लस फ्लोरेस मेडेलिन (कोलम्बिया), २०१८ मा बेलग्रेड म्याराथन (सर्बिया) र २०१९ मा हार्मोनी जेनेभा म्याराथन फर युनिसेफ (स्विट्जरल्यान्ड) ले यो अवार्ड प्राप्त गरेका थिए। विविध कारणले बीचमा केही वर्ष रोकिएको यो अवार्ड यस वर्षदेखि पुनः निरन्तर प्रदान गर्न लागिएको उपाध्यक्ष मोरालेसले बताइन्।
उपाध्यक्ष मोरालेसले नेपालगन्ज म्याराथनका संस्थापक ठकुरीलाई पत्र लेख्दै भनेकी छन्, ‘हामी तपाईंलाई यो जानकारी गराउन पाउँदा अत्यन्त हर्षित छौँ कि नेपालगन्ज म्याराथन यस वर्षको प्रतिष्ठित एम्स सोसल अवार्ड प्राप्तकर्ताका रूपमा चयन भएको छ।’ दौडको दुनियाँमा यो अत्यन्तै सम्मानित पुरस्कार भएको उनले उल्लेख गरेकी छन्।
‘प्रत्येक वर्ष त्यस्ता उत्कृष्ट म्याराथनलाई प्रदान गरिन्छ, जसले म्याराथन आयोजनामा उत्कृष्ट अभ्यास प्रस्तुत गर्दै खेलकुदको दिगो विकासका पक्षमा आफ्नो सशक्त प्रतिबद्धता जनाएको हुन्छ,’ उनले भनेकी छन्, ‘यो विशेष पुरस्कारमार्फत तपाईं र तपाईंको संस्थाले समाजमा सञ्चालन गरेका सामाजिक पहलहरू र सकारात्मक कार्यहरूको सम्मान गरिएको हो। एम्सले अन्य सदस्य संस्थाहरूलाई पनि आफ्ना कार्यक्रमहरूमा यस्ता उत्कृष्ट अभ्यासहरू अपनाउन प्रेरित गर्ने उद्देश्य राखेको छ। हामी आशा गर्दछौँ कि यो उपलब्धिले तपाईंलाई अझ उच्च सफलता हासिल गर्न प्रेरणा दिनेछ। यो प्रतिष्ठित पुरस्कार प्राप्त गर्नुभएकोमा हार्दिक बधाई।’
नेपालगन्ज म्याराथन सन् २०१५ देखि अभिछिन्न रूपमा सञ्चालन हुँदै आएको दौड हो। कोभिडकालमा समेत नेपाल सरकारको प्रोटोकल कायम राख्दै टोकियो ओलम्पिकका लागि खेलाडी छनोट गर्ने काम नेपालगन्ज म्याराथनले गरेको थियो।
लामो सशस्त्र द्वन्द्व विधिवत् अन्त्य गर्ने विस्तृत शान्ति सम्झौता भएको ५ मङ्सिर २०६३ को स्मरणमा २०७२ सालदेखि नेपालगन्जले म्याराथन यात्रा सुरु गरेको हो। बहुल जाति, धर्म र सम्प्रदायको बसोबास रहेको नेपालगन्जलाई शान्ति, सद्भाव र एकताको मालामा गाँस्ने प्रभावशाली माध्यमका रूपमा म्याराथन विधालाई लिएर सुरु गरिएको यो अभियानसँग अहिले करिब एक दर्जन भगिनी आयोजना सञ्चालनमा छन्।
स्कुले बालबालिकालाई जलवायु परिवर्तनले निम्त्याएको समस्याबारे सचेतना र अनुकूलनतर्फ प्रेरित गर्ने गरी गौघाट ग्रीन र राप्तीसोनारी नेचर रन दुई वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको छ। रात्रिकालीन समयमा समेत सुरक्षित अनुभूति दिलाउन नेपालगन्ज १० के नाइट रनका दुई संस्करण आयोजना भइसकेका छन्। विश्वसामु नेपाली सम्पदाको प्रचारप्रसार गर्ने उद्देश्यले गत वर्षदेखि काठमाडौँ २५ किमी हेरिटेज रेस सुरु गरिएको छ भने कर्णाली प्रदेशमा कर्णाली हाफ म्याराथन पनि सुरु गरिएको छ।
यसका साथै, लोकतन्त्रमा संवाद र बहसलाई अपरिहार्य ठान्दै नेपालगन्ज डिस्कोर्सको शृङ्खलाअन्तर्गत नेपालगन्ज कन्क्लेभका ६ संस्करण सञ्चालन भइसकेका छन्। गत वर्ष एम्सको बोर्ड बैठकसहित नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्स समेत आयोजना गरिएको थियो, जसमा १८ देशका प्रतिनिधिहरू सहभागी थिए। यस वर्षदेखि वन ग्लोबल माइल अन्तर्गत कोहलपुर माइल पनि सुरु गर्न लागिएको छ। साथै, नेपाल रनिङ म्यागजिन पनि निरन्तर प्रकाशन हुँदै आएको छ।
नेपालगन्ज म्याराथनले विभिन्न अवधारणामा निरन्तर काम गरिरहेको विषयलाई मूल्याङ्कन गर्दै यो प्रतिष्ठित अवार्ड प्रदान गरिएको संस्थापक ठकुरीले बताए। ‘हामी दौडलाई सामाजिकीकरण गर्न र संस्कृति बनाउन चाहन्छौँ,’ उनले भने, ‘यो अन्तर्राष्ट्रिय अवार्डले हामीलाई ऊर्जा दिने छ र नेपाललाई विश्वभर चिनाउने छ।’ गत वर्ष एम्सले ठकुरीलाई नेपालका लागि आधिकारिक दूतसमेत नियुक्त गरेको थियो।





