प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

काठमाडौं । नेपाली सेनाको आयोजनामा प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता २०८३ सुरु भएको छ। नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा सञ्चालन भएको प्रतियोगिताको सोमबार बलाधिकृत रथी प्रदिप जंग केसीले उद्घाटन गरेका हुन्।
प्रतियोगितामा १३ वटा क्लबका २१८ जना खेलाडी सहभागी छन्। विभिन्न १३ इभेन्टमा प्रतिस्पर्धा हुने प्रतियोगिता ज्येष्ठ १२ गतेसम्म सञ्चालन हुनेछ।
नेपाली सेनाले टेनिस खेलको विकासमा सहयोग पुर्याउने उद्देश्यसहित विसं २०७८ देखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ। यस वर्षको प्रतियोगितामा खुलातर्फ पुरुष एकल र युगल, महिला एकल र युगल विधा समावेश छन्।
त्यस्तै, भेट्रान्सतर्फ ३५ वर्षमाथि एकल र युगल, ४५ वर्षमाथि एकल र युगल, ५५ वर्षमाथि एकल र युगल, ६५ वर्षमाथि एकल र युगल तथा ७० वर्षमाथि एकल विधामा प्रतिस्पर्धा हुनेछ।
उद्घाटन कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, नेपाल टेनिस सङ्घ, नेपाल ओलम्पिक कमिटी तथा विभिन्न टेनिस क्लबका पदाधिकारी, नेपाली सेनाका अधिकृत, सञ्चारकर्मी र खेलाडीहरूको उपस्थिति थियो।
प्रतियोगिताले राष्ट्रियस्तरका खेलाडीबीच प्रतिस्पर्धात्मक वातावरण निर्माण गर्नुका साथै टेनिस खेलको प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।





