मेची रङ्गशालामा फ्लडलाइट जडान प्रक्रिया सुरु

भद्रपुर । झापाको भद्रपुरस्थित ऐतिहासिक मेची रङ्गशालामा रात्रिकालीन खेलकुद गतिविधि सञ्चालनका लागि फ्लडलाइट जडान प्रक्रिया अघि बढाइएको छ। कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा रु तीन करोड ५० लाख बजेट विनियोजन गरेपछि उच्च क्षमताको प्रकाश प्रणाली जडान कार्यले गति लिएको हो।
झापाकै पुरानो खेलकुद मैदानका रूपमा परिचित मेची रङ्गशालामा पछिल्ला वर्षहरूमा फुटबल तथा अन्य खेलकुद गतिविधि नियमित रूपमा आयोजना हुँदै आएका छन्। २०७९ सालयता यहाँ दुईवटा अन्तरराष्ट्रिय टोली सहभागी फुटबल प्रतियोगितासहित विभिन्न खेलकुद कार्यक्रम सम्पन्न भएका छन्। जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पनि वार्षिक रूपमा यही रङ्गशालामा सञ्चालन हुँदै आएको छ।
फ्लडलाइट जडान परियोजना अघि बढाउन कोशी प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, भद्रपुर नगरपालिका र झापा जिल्ला खेलकुद विकास समितिबीच त्रिपक्षीय सम्झौता भएको छ। सम्झौतापत्रमा मन्त्रालयका तर्फबाट प्रदेश सचिव पुष्करप्रसाद पोखरेल, भद्रपुर नगरपालिकाका तर्फबाट नगरप्रमुख गणेश पोखरेल र झापा जिल्ला खेलकुद विकास समितिका तर्फबाट कार्यालय प्रमुख विष्णुकुमार नेम्वाङले हस्ताक्षर गरेका छन्।
भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलका अनुसार मेची रङ्गशालालाई आधुनिक र प्रविधियुक्त खेलकुद पूर्वाधारका रूपमा विकास गर्ने उद्देश्यले फ्लडलाइट जडान प्रक्रिया सुरु गरिएको हो। उनले काम सम्पन्न भएपछि भद्रपुरमा रात्रिकालीन खेलकुद प्रतियोगिता सञ्चालन गर्न सहज हुने बताए।
“खेलकुद गतिविधिका लागि व्यस्त रहँदै आएको मेची रङ्गशालालाई आधुनिकीकरण र प्रविधियुक्त बनाउने लक्ष्यअनुरूप फ्लडलाइट जडान प्रक्रिया सुरु गरिएको हो,” नगरप्रमुख पोखरेलले भने, “यो कार्य पूरा भएपछि भद्रपुरमा रातिको समयमा पनि खेलकुद प्रतियोगिता सञ्चालन गर्न सकिनेछ।”
पछिल्लो समय भद्रपुरमा अन्तरराष्ट्रियस्तरका फुटबल तथा क्रिकेट प्रतियोगिता आयोजना हुने क्रम बढेको छ। भद्रपुर गोल्डकप र महिला गोल्डकप फुटबल प्रतियोगिता यहाँका चर्चित खेलकुद गतिविधिमध्ये पर्छन्। रात्रिकालीन खेल सञ्चालन गर्न मिल्ने भएपछि यस्ता प्रतियोगिताको व्यवस्थापन, दर्शक सहभागिता र खेलकुद पूर्वाधारको उपयोग थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
त्रिपक्षीय सम्झौताअनुसार फ्लडलाइट जडानका लागि आवश्यक बजेट कोशी प्रदेश सरकारले उपलब्ध गराउनेछ। झापा जिल्ला खेलकुद विकास समितिले परियोजनाका लागि आवश्यक जग्गा उपलब्ध गराउनेछ भने भद्रपुर नगरपालिकाले नेपाल विद्युत् प्राधिकरणबाट विद्युत् मिटर जडान गर्ने र विद्युत् शुल्क व्यहोर्ने जिम्मेवारी लिनेछ।
फ्लडलाइट प्रणाली पूर्ण रूपमा जडान भएपछि औपचारिक रूपमा झापा जिल्ला खेलकुद विकास समितिलाई हस्तान्तरण गरिने सम्झौतामा उल्लेख छ। परियोजना सम्पन्न भएपछि मेची रङ्गशाला रात्रिकालीन खेलकुद गतिविधिका लागि सक्षम पूर्वाधारका रूपमा विकास हुने विश्वास गरिएको छ।





