रुसमा तेस्रो संस्करणको ‘वान रन’ अन्तर्राष्ट्रिय हाफ म्याराथन आज हुँदै, ३८ देशका १२ सय धावक सहभागी

ललितपुर। ‘लिगा गिरोयेभ’ र एनआरएस स्पोर्ट्स फाउन्डेसनको संयुक्त आयोजना तथा नेपाल पर्यटन बोर्ड र ललितपुर महानगरपालिकाको सहकार्यमा तेस्रो संस्करणको ‘वान रन’ अन्तर्राष्ट्रिय हाफ म्याराथन आज ललितपुरमा हुँदैछ। नेपालस्थित रुसी दूतावास र काठमाडौँस्थित रुसी सदनको सक्रिय सहयोगमा आयोजित यस प्रतियोगितामा ३८ देशका १२ सय धावक सहभागी हुनेछन्।
‘वान रन’ हाफ म्याराथन सन् २०१७ मे २१ मा रुसका १० सहरमा एकसाथ पहिलो पटक आयोजना गरिएको थियो। सन् २०२५ सम्म आइपुग्दा सहभागी देशको सङ्ख्या २५ पुगेको छ। नेपालमा यो प्रतियोगिता लगातार तेस्रो पटक आयोजना हुँदैछ।
प्रतियोगिताको उद्घाटन ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले गर्नेछन्। ऐतिहासिक कृष्ण मन्दिरबाट सुरु हुने हाफ म्याराथन मङ्गल बजार, पुल्चोक, जावलाखेल, खरिबोट, एकान्तकुना, सातदोबाटो, बल्खु, कलङ्की, सीतापाइला हुँदै सोही मार्ग भएर पुनः सुरु बिन्दुमा पुगेर समापन हुनेछ।
धावकहरूले २१.१ किलोमिटर, १० किलोमिटर, ५ किलोमिटर र १ किलोमिटर गरी चार विधामा पुरुष र महिला छुट्टाछुट्टै प्रतिस्पर्धा गर्नेछन्। यसै कार्यक्रमअन्तर्गत कूटनीतिज्ञ, कम्पनी प्रमुख तथा प्रतिष्ठित सार्वजनिक व्यक्तित्वका लागि विशेष १ किलोमिटरको कूटनीतिक दौड पनि आयोजना गरिनेछ। यस कूटनीतिक दौडले प्रतिस्पर्धाभन्दा माथि उठेर सहकार्यको महत्त्वलाई उजागर गर्दै म्याराथनले प्रतिनिधित्व गर्ने एकता र विश्वव्यापी मित्रताको भावनालाई झल्काउनेछ।
प्रतियोगिताको अन्तर्राष्ट्रिय पक्ष निकै बलियो रहेको छ। ३८ देशका धावकको सहभागिताले विश्वव्यापी खेल आयोजनाको गन्तव्यका रूपमा नेपालको बढ्दो आकर्षणलाई प्रदर्शित गर्छ।





