मलेसियाविरुद्ध दोस्रो टी–२० मा पनि नेपालको सहज जित, सम्झना खड्काको ३९ रन

काठमाडौँ — नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियाविरुद्धको दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा ७ विकेटको सहज जित हासिल गरेको छ। मलेसियाको बायुमास ओभल क्रिकेट मैदानमा शुक्रबार सम्पन्न खेलमा नेपालले मलेसियामाथि एकपक्षीय जित निकालेको हो।
टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८२ रनको योगफल बनाएको थियो। मलेसियाका लागि ऐना हमिजाले सर्वाधिक १७ रनको योगदान दिइन्। उनले ३० बलमा एक चौकाको सहायताले १७ रन बनाइन्। धनुश्री मुहुनानले १५ र अरिनान नातास्याले १३ रन जोडिन्। अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।
बलिङतर्फ नेपालकी कविता कुँवर, रुविना क्षेत्री र रिया शर्माले समान दुई-दुई विकेट लिइन् भने पूजा महतो र सीता रानामगरले एक-एक विकेट हात पारिन्।
जवाफमा ८३ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १६ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। नेपालको जितमा सम्झना खड्काले सर्वाधिक ३९ रनको योगदान दिइन्। कविता कुँवरले १९ र सोनी पाखरिनले १२ रन जोडिन्। यस जितसँगै नेपालले मलेसियाविरुद्धको टी–२० शृङ्खलामा लगातार दोस्रो जित दर्ता गरेको छ।





