भुवन नगरकोटीले जिते ‘सूर्य नेपाल च्यालेन्ज’ को उपाधि, करियरको १५औं जित

काठमाडौँ — सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत आयोजित सातौं प्रतियोगिता ‘सूर्य नेपाल च्यालेन्ज’ को उपाधि प्रो गल्फर भुवन नगरकोटीले जितेका छन्। गोकर्ण गल्फ क्लबमा सम्पन्न चार दिने ७२ होलको प्रतियोगितामा भुवनले प्रभावशाली प्रदर्शन गर्दै करियरको १५औं उपाधि कब्जा गरेका हुन्।
अन्तिम दिन इभन-पार ६८ को कार्डसहित समग्रमा ११-अन्डर २६१ को स्कोर निकाल्दै भुवन च्याम्पियन बने। प्रतियोगिताको सुरुवातमा उनी निकटतम प्रतिद्वन्द्वीभन्दा ३ स्ट्रोकले अगाडि थिए। खेलका क्रममा फ्रन्ट र ब्याक नाइन दुवैमा इभन-पार ३४ को नतिजा निकालेका भुवनले चौथो र पाँचौं होलमा बर्डी प्रहार गरे पनि नवौं होलमा डबल बोगीको सामना गरेका थिए। तर, ब्याक नाइनका सबै होलमा ‘पार’ जोगाउँदै उनले आफ्नो अग्रता सुरक्षित राखे। उपाधिसँगै उनले १ लाख ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।
प्रतियोगितामा दिनेश प्रजापति र एमेच्योर खेलाडी राहुल विश्वकर्मा ९-अन्डर २६३ को समान स्कोरसहित संयुक्त रूपमा दोस्रो स्थानमा रहे। दिनेशले दोस्रो स्थानबापत ९० हजार रुपैयाँ नगद पुरस्कार जिते। एमेच्योरतर्फ राहुल विश्वकर्माले उपाधि जिते भने स्वप्निल भट्टराई दोस्रो भए। समग्र नतिजामा ८-अन्डर २६४ सहित शुक्रबहादुर राई चौथो र ७-अन्डर २६५ सहित निरज तामाङ पाँचौं स्थानमा रहे। उनीहरूले क्रमशः ७० हजार र ५५ हजार रुपैयाँ पुरस्कार हात पारे।
सूर्य नेपाल प्रालिको प्रायोजन र पीजीए नेपालको आयोजनामा सम्पन्न प्रतियोगितामा कुल ५२ जना गल्फरले प्रतिस्पर्धा गरेका थिए। ७ लाख १० हजार रुपैयाँ कुल पुरस्कार राशी रहेको प्रतियोगितामा उत्कृष्ट १८ प्रो गल्फर पुरस्कृत भए। विजेता खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका ब्रान्ड म्यानेजर विदुरराज अधिकारी, नेपाल गल्फ संघका अध्यक्ष टासी घले र पीजीए नेपालका अध्यक्ष रविन्द्रमान श्रेष्ठले संयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए।





