खजुरा गोल्डकपको आयव्यय सार्वजनिक : ५१ लाख आम्दानी, ३ लाख ७६ हजार बचत

बाँके — न्यू डाँफे स्पोर्ट्स क्लबको आयोजना तथा खजुरा गाउँपालिकाको संरक्षकत्वमा बाँकेको खजुरामा सम्पन्न प्रथम खजुरा गोल्डकप प्रतियोगिताको गाउँभेला गरी आयव्यय सार्वजनिक गरिएको छ। मुख्य आयोजक न्यू डाँफे स्पोर्ट्स क्लबले आज गाउँभेला गरेर हिसाबकिताब सार्वजनिक गरेको हो।
गोल्डकप सम्पन्न गर्न सहयोग पुर्याउने स्थानीय बासिन्दा र दाताहरूको भेलामा अन्तरक्रियासहित प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक गरिएको छ। आर्थिक विवरण प्रस्तुत गर्नुअघि स्थानीय बासिन्दालाई प्रतियोगिता सञ्चालनका क्रममा भएका कमीकमजोरी औंल्याउन आग्रह गरिएको थियो। भेलामा उपस्थित गाउँलेहरूले प्रतियोगिता सञ्चालनका क्रममा भएका कमीकमजोरी खुलेर औंल्याएका थिए।
सहभागीहरूले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै क्लबका अध्यक्ष बालाराम खत्रीले पहिलो पटक गोल्डकप आयोजना गर्दा अन्जानमा केही कमी भएको स्वीकार गर्दै आगामी प्रतियोगितामा सहभागीको सुझावअनुसार कमीहरू हटाउँदै जाने प्रतिबद्धता व्यक्त गरे। उनले सबैको सुझाव र आलोचनाबाट शिक्षा लिँदै अझ प्रभावकारी व्यवस्थापनमा दोस्रो गोल्डकप आयोजना गरिने बताए।
अध्यक्ष खत्रीका अनुसार प्रतियोगितामा कुल ५१ लाख ९६ हजार ७१ रुपैयाँ आम्दानी भएको र ४८ लाख १९ हजार ३०४ रुपैयाँ खर्च भई ३ लाख ७६ हजार ७६७ रुपैयाँ बचत भएको छ। आम्दानीमध्ये १४ लाख ८३ हजार ५०० रुपैयाँ उठ्न बाँकी रहेको उनले जानकारी दिए।
वैशाख ६ गते सम्पन्न प्रतियोगितामा आयोजक न्यू डाँफे स्पोर्ट्स क्लबसहित जेभिएम फुटबल एकेडेमी लखनउ, काँक्रेविहार क्लब सुर्खेत, फोर ब्रदर्स एफसी नवलपरासी, एपीएफ काठमाडौँ र नाइजेरियन जोन क्लब नाइजेरियासमेत गरी ८ टोलीको सहभागिता रहेको थियो। प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नाइजेरियन टोली जस्ट जोन एफसीले हात पारेको थियो। खजुरा गाउँपालिका ४ डि गाउँस्थित मिनी रंगशालामा सम्पन्न फाइनल खेलमा जस्ट जोनले जेभिएम क्लब लखनउ भारतलाई ४-० गोलले पराजित गरेको थियो। प्रतियोगिताको विजेतालाई ७ लाख रुपैयाँ र द्वितीयलाई ४ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो। विजेता टिमको पुरस्कार खजुराबासी हाल अमेरिका निवासी लीलबहादुर थापाको सौजन्यमा प्रदान गरिएको थियो।





