राङभाङ समाज यूकेले जित्यो २४औं गोर्खा कपको उपाधि

लन्डन । बेलायतमा आयोजित गोर्खा कप फुटबल प्रतियोगिताको २४औं संस्करणको मुख्य उपाधि राङभाङ समाज यूके एफसीले जितेको छ।
नेपाली समयअनुसार आइतबार राति सम्पन्न फाइनलमा राङभाङ समाजले गुरूजी इलिट एफसीलाई २–० गोलले पराजित गर्दै प्रतिष्ठित उपाधि उचालेको हो। गुरूजी इलिट गत वर्ष पनि उपविजेता बनेको थियो।
तमु धीं यूकेका खेल सचिव एवं गोर्खा कप २४औं संस्करणका संयोजक क्याप्टेन दीपक घलेका अनुसार बेलायतको अल्डरसटस्थित क्वीन्स एभिन्यु स्पोर्ट्स फिल्डमा आयोजित प्रतियोगिता ९ ‘ए’ साइड ढाँचामा खेलाइएको थियो।
मुख्य प्रतियोगिताको विजेता राङभाङ समाज यूकेले ३ हजार ५ सय पाउन्डसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो। उपविजेता गुरूजी इलिट एफसीले २ हजार पाउन्डसहित ट्रफी र प्रमाणपत्र हात पार्यो। राङभाङ समाज यूकेका सम थापा ‘बेस्ट म्यानेजर’ घोषित भए। नेप्जोम एफसीका इनिओला अलमो प्रतियोगिताको सर्वाधिक गोलकर्ता बने। राङभाङ समाज यूकेकै न्वाङ शेर्पा ‘प्लेयर अफ द म्याच’ घोषित भए।
भेट्रान्सतर्फ इन्टेक जिरोफोर च्याम्पियन बन्यो। निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। ५–५ गोलको बराबरीपछिको सडनडेथमा इन्टेक जिरोफोरले प्लमस्टेड एफसीलाई ३–२ गोलले पराजित गर्दै उपाधि जितेको हो। विजेता टोलीले १ हजार ८ सय पाउन्ड र उपविजेताले १ हजार २ सय पाउन्ड प्राप्त गरे। भेट्रान्सतर्फ सोम थापा ‘बेस्ट म्यानेजर’, निशान्त गुरुङ ‘टप स्कोरर’ र शेरजङ गुरुङ ‘प्लेयर अफ द म्याच’ घोषित भए।
महिलातर्फ तामाङ समाज यूके एफसी विजेता बन्यो। फाइनलमा साविक विजेता राउन्डबोल्ट एफसीलाई ३–० ले हराउँदै तामाङ समाजले उपाधि जितेको हो। विजेता टोलीले ६ सय पाउन्ड र उपविजेता टोलीले ४ सय पाउन्डसहित ट्रफी प्राप्त गरे। तामाङ समाजकी सुक लामा तामाङ ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।
प्रतियोगितामा मुख्यतर्फ ३९ टोली, भेट्रान्सतर्फ १६ टोली र महिलातर्फ २ टोली गरी कुल ५७ टोली सहभागी भएको संयोजक घलेले जानकारी दिए। बिहान ९ बजेदेखि सुरु भएको खेल साँझ करिब ८ बजेसम्म सञ्चालन भएको थियो।
विजेता र उपविजेता टोलीलाई तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, रश्मुर बरो काउन्सिलका मेयर काउन्सिलर क्यालम स्टेवर्ट, सांसद एलेक्स बेकर, नेपाली दूतावास लन्डनका सैनिक सहचारी सहायक रथी अनुप शाहलगायतले पुरस्कार वितरण गरे।
कार्यक्रममा तमु धीं यूकेले रश्मुर बरो काउन्सिल र गोर्खा वेलफेयर ट्रस्टलाई ५–५ सय पाउन्ड सहयोग हस्तान्तरण गर्यो। सोही अवसरमा ‘लेजेन्ड अफ गोर्खा कप’ को सम्मान डेनिस महर्जनलाई प्रदान गरियो। स्कटल्यान्डमा अन्डर–१५ फुटबल खेलिरहेकी नेपाली मूलकी खेलाडी मेलिसा रेग्मीलाई पनि सम्मान गरियो।
सन् १९९६ मा ७ ‘ए’ साइडबाट सुरु भएको गोर्खा कप अहिले ९ ‘ए’ साइड प्रतियोगिताका रूपमा स्थापित भएको छ। आयोजकका अनुसार यस वर्षको प्रतियोगिता २० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका थिए। बेलायतमा आयोजना हुने गोर्खा कप नेपालबाहिरको सबैभन्दा ठूलो नेपाली खेलकुद तथा सामुदायिक कार्यक्रमका रूपमा लिइन्छ।





