२२ जेष्ठ २०८३, शुक्रबार

सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षे सम्झौता, खेलकुद इतिहासमै सबैभन्दा लामो अवधिको सम्झौता

पोखरा। नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने र शैक्षिक परामर्शदाता कम्पनी ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीबीच पाँच वर्षे सम्झौता नवीकरण भएको छ। पोखरामा आयोजित एक कार्यक्रमका बीच ब्रिज इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) भुवन गिरी र सन्दीप लामिछानेले सम्झौता पत्रमा हस्ताक्षर गरे।

यसअघि, २०८१ भदौमा ब्रिज इन्टरनेशनलले सन्दीपसँग दुई वर्षको सम्झौता गरेको थियो। सो सम्झौताको केही अवधि बाँकी रहँदै ब्रिजले थप पाँच वर्षका लागि सम्झौता नवीकरण गरेको हो। सिइओ गिरीले नेपालको खेलकुद इतिहासमै एकै पटक यति लामो अवधिको सम्झौता भएको यो पहिलो घटना भएको दाबी गरे।

‘हामीले करिब दुई वर्षअघि सम्झौता गरेका थियौं। कति छिटो समय बित्यो, पत्तै भएन। फेरि हामीले पाँच वर्षको लागि सम्झौता नवीकरण गरेका छौं,’ गिरीले भने। उनले सन्दीपसँग पहिलो पटक सम्झौता गर्दा त्यो गर्वको क्षण रहेको र फेरि सम्झौता गर्न पाउँदा धेरै खुसी लागेको बताए।

गिरीले क्रिकेट खेलको विकास जमिनी स्तरबाटै गर्नुपर्ने धारणा राख्दै ‘राइजिङ एन्ड साइनिङ विथ एस २५’ कार्यक्रम घोषणा गरे। यसअन्तर्गत हरेक प्रदेशमा गएर प्रतिभावान खेलाडीको खोजी गर्ने र कम्तीमा पाँच खेलाडीलाई छात्रवृत्ति दिने योजना रहेको उनले जानकारी दिए। ‘शिक्षा र खेलकुदलाई जोड्ने र क्रिकेटको मोह र माया खेलबाट टाढा हुन नपरोस् भनेर हामीले सन्दीपजस्तै अन्य क्रिकेटर उत्पादन गर्नुपर्छ भन्ने सोचका साथ कम्तीमा पाँच जना छनोट गरेर छात्रवृत्ति दिने योजना बनाएका छौं। त्यो क्रिकेटका लागि ठूलो विषय हो,’ उनले भने।

सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने खेलाडीको विश्व कीर्तिमान बनाएका छन्। उनले ७३ खेलमा उक्त उपलब्धि हासिल गर्दै अस्ट्रेलियाका मिचेल स्टार्कले ७७ खेलमा बनाएको कीर्तिमान तोडेका हुन्। यस्तै, सन्दीपको नाममा ओडीआईमा सबैभन्दा छिटो १०० विकेट लिने कीर्तिमान पनि छ।

सन्दीपले दुई वर्षअघि आफू कठिन समयमा हुँदा ब्रिज इन्टरनेशनलले उठाउने काम गरेको भन्दै यो सम्झौता मात्र नभएर परिवारजस्तै भएको बताए। ‘म कुनै समय कठिन अवस्थामा हुँदा, लडेको बेला उठाउने काम ब्रिजले गर्यो। यो सम्झौताले मलाई जुन जिम्मेवारी दिनुभएको छ, त्यो अटुट सम्बन्धको रूपमा लिएर जानेछु,’ उनले भने।

सन्दीपले ब्रिज इन्टरनेशनल नेपालकै नम्बर एक कन्सल्टेन्सी भएको र आफूलाई विश्वास गरेर फेरि पाँच वर्षको लागि सम्झौता भएकोमा आभार व्यक्त गरे। ‘मलाई तपाईंहरूले यो जिम्मेवारी दिनुभएको छ। म जब नेपालको प्रतिनिधित्व गर्छु, सधैं नेपाल र नेपालप्रति लोयल हुनेछु,’ उनले भने।

सम्झौता कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङ, प्रदेश सांसद टिकामाया बस्याल, डाइरेक्टर अफ ग्लोबल बिजनेस एन्ड रिलेसन्स एन्ड्रु होप्किन्स, एनआरएनएका प्रवक्ता सोमप्रसाद सापकोटा, नेपाल स्कुल स्पोर्ट्स फेडरेसनका महासचिव राजकुमार कार्कीलगायतको उपस्थिति रहेको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button