२१ जेष्ठ २०८३, बिहीबार

कर्णाली रंगशाला अन्तिम चरणमै अलपत्र

सुर्खेत । कर्णाली प्रदेशमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य स्थल मानिएको कर्णाली रंगशालाको निर्माण अन्तिम चरणमै अलपत्र परेको छ। करिब ९९ प्रतिशत काम सम्पन्न भइसके पनि बाँकी एक प्रतिशत काम पूरा हुन नसक्दा रंगशाला सञ्चालनमा आउन सकेको छैन। ठेकेदार कम्पनीले काम रोकेको दुई वर्ष पुग्न लाग्दा पनि ठेक्काको म्याद थप वा रद्द गर्ने निर्णय हुन नसक्दा प्रतियोगिताको तयारीसमेत अनिश्चित बनेको छ।

कर्णाली प्रदेश सरकारको पहिलो गौरवको आयोजनाका रूपमा अघि बढाइएको यो रंगशाला करिब नौ बिघा क्षेत्रफलमा निर्माण भइरहेको छ। कर्णाली प्रदेश खेलकुद विकास परिषद्सँग एमएसी/जीएसएल जेभीले २०७८ मंसिरमा १ अर्ब ५९ करोड ४७ लाख रुपैयाँमा निर्माण सम्झौता गरेको थियो। ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सुरु भएको आयोजनाको प्रारम्भिक म्याद २०८१ जेठसम्म थियो।

निर्माण अवधिमा कोरोना महामारी, निर्माण सामग्रीको अभाव र दक्ष जनशक्तिको कमी लगायत कारण देखाउँदै ठेकेदार कम्पनीले म्याद थपका लागि अनुरोध गरेपछि २०८१ मंसिरमा एक वर्षका लागि म्याद थप गरिएको थियो। तर त्यसपछि कर्णाली प्रदेश खेलकुद विकास परिषद्का तत्कालीन पदाधिकारीको कार्यकाल सकिएपछि आयोजनासम्बन्धी निर्णय प्रक्रिया अवरुद्ध भएको हो।

सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी देवीप्रसाद पौड्यालका अनुसार सार्वजनिक खरिद नियमावलीअनुसार ठेकेदार पक्षले म्याद सकिएको ६ महिनाभित्र थप म्यादका लागि कारणसहित परिषद्मा निवेदन दिनुपर्ने थियो। तर परिषद् नेतृत्वविहीन हुँदा ठेकेदारले समयमै निवेदन पेस गर्न नसकेको र अहिले म्याद सकिएको १६ महिना पुगिसकेकाले ठेक्का तोड्ने वा म्याद थप्ने दुवै प्रक्रियामा कानुनी जटिलता देखिएको उनले बताए।

उनका अनुसार रंगशालामा अब प्रवेशद्वार क्षेत्रमा कालोपत्रे गर्ने, अन्तिम रंगरोगन गर्ने, विद्युत् र खानेपानी जडान गर्ने लगायत काम बाँकी छन्। ठेकेदार कम्पनीले सम्पन्न गरिसकेको कामबापत झन्डै नौ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको पनि मन्त्रालयले जनाएको छ।

सत्तारुढ दलहरूबीच भागबन्डा नमिल्दा कर्णाली प्रदेश खेलकुद विकास परिषद् लामो समय नेतृत्वविहीन बनेको थियो। परिषद्का तत्कालीन सदस्यसचिव विश्वामित्र सञ्ज्यालसहितका पदाधिकारीको कार्यकाल २०८१ पुस ६ गते सकिएको थियो। त्यसको करिब १५ महिनापछि गत चैत १२ गते प्रदेश सरकारले रवीन्द्र चन्दलाई सदस्यसचिवमा नियुक्त गरेको हो।

नवनियुक्त सदस्यसचिव चन्दले पदभार ग्रहण गरेदेखि नै रंगशालाको बाँकी काम टुंग्याउने प्रयास भइरहेको बताए। उनका अनुसार म्याद थप र बाँकी कामबारे विभिन्न निकायसँग पटकपटक छलफल भइरहेको छ, तर अझै अन्तिम निष्कर्षमा पुग्न सकिएको छैन।

फिफाको अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएको कर्णाली रंगशालामा करिब १० हजार दर्शक अट्ने प्यारापिट बनाइएको छ। आईएएफको मापदण्डअनुसार आठ लेनको सिन्थेटिक ट्रयाकसमेत तयार गरिएको छ। रंगशालाभित्र मिडिया रुम, रेफ्री रुम, चेन्जिङ रुम, रिफ्रेस र मेडिकल रुम, फिजियोथेरापी कक्ष, भीआईपी वेटिङ रुम तथा अन्डरग्राउन्ड पार्किङसमेत निर्माण गरिएको सदस्यसचिव चन्दले जानकारी दिए।

रंगशाला परिसरभित्र स्विमिङ पुलसहित करिब १५ सय दर्शक अट्ने बहुउद्देश्यीय कभर्डहल पनि निर्माण गरिएको छ। उक्त कभर्डहलमा भलिबल, ह्यान्डबललगायतका खेल सञ्चालन गर्न सकिने बताइएको छ। व्यावसायिक प्रयोजनका लागि रंगशालामा ४० वटा सटरसमेत निर्माण गरिएको छ। कर्णाली सरकारले राष्ट्रिय खेलकुदका ३५ मध्ये २४ खेल यही रंगशालामा सञ्चालन गर्ने तयारी गरेको छ।

तर रंगशालाको बाँकी काम समयमै पूरा नहुँदा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति पटकपटक सर्दै आएको छ। संघीय सरकारले यसअघि प्रतियोगिताका लागि चारपटक मिति तय गरे पनि प्रत्येक पटक स्थगित भएको छ। सुरुमा २०८१ मंसिर १ देखि ८ गतेसम्म, दोस्रोपटक २०८१ चैत २३ देखि ३० गतेसम्म र तेस्रोपटक २०८२ जेठ ३ देखि १० गतेसम्म प्रतियोगिता गर्ने निर्णय गरिएको थियो।

त्यसपछि तत्कालीन खेलकुदमन्त्री बब्लु गुप्ताको कार्यकालमा चौथोपटक गत फागुन १ देखि ७ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय भएको थियो। तर प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण निर्धारित मितिभन्दा केही दिनपछि सरकारले निर्वाचनपछि उपयुक्त समयमा प्रतियोगिता गर्ने निर्णय गर्‍यो। त्यसयता प्रतियोगिताको नयाँ मिति अझै घोषणा भएको छैन।

प्रतियोगिता पटकपटक सर्दा खेलाडीहरूमा निराशा बढेको छ। सुर्खेतका तेक्वान्दो खेलाडी निसान खड्काले राष्ट्रिय खेलकुद खेलाडीका लागि ठूलो अवसर भए पनि प्रदेश सरकारको तयारी कमजोर देखिएको बताए। आफ्नै प्रदेशमा राष्ट्रिय खेलकुद हुने भनिए पनि नियमित प्रशिक्षण, अभ्यास र खेलाडीलाई हौसला दिने कार्यक्रम नहुँदा खेलाडी अन्योलमा रहेको उनको भनाइ छ।

भलिबल खेलाडी यज्ञ ओलीले पनि प्रदेश र स्थानीय तहको उदासीनताका कारण खेलाडीहरू प्रभावित भएको बताए। उनका अनुसार अहिले जिल्लास्तरीय प्रतियोगिता र बन्द प्रशिक्षण सुरु भइसक्नुपर्ने समय भए पनि अधिकांश जिल्लामा तयारी ठप्पजस्तै छ। यसले आफ्नै प्रदेशमा हुने प्रतियोगितामा समेत कर्णालीका खेलाडीले अपेक्षित प्रदर्शन गर्न नसक्ने जोखिम बढाएको उनको भनाइ छ।

सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले भने प्रदेश रंगशालाको बाँकी काम एक साताभित्र टुंग्याइने दाबी गरेका छन्। तर लामो समयदेखि म्याद, भुक्तानी, कानुनी प्रक्रिया र संस्थागत नेतृत्वको अन्योलमा अल्झिएको रंगशाला कहिले पूर्ण रूपमा तयार हुने भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन।

दसौँ राष्ट्रिय खेलकुद कर्णालीका लागि केवल खेलकुद प्रतियोगिता मात्र नभई पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन, खेलाडी उत्पादन र प्रदेशको पहिचानसँग जोडिएको महत्वपूर्ण अवसर हो। तर मुख्य रंगशाला अन्तिम चरणमै अलपत्र पर्दा प्रतियोगिताको तयारी, खेलाडीको मनोबल र प्रदेश सरकारको कार्यक्षमतामाथि प्रश्न उठेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button