२१ जेष्ठ २०८३, बिहीबार

महिला टी–२० छनोटमा सिरहा र धनुषाको जित

राजविराज । सप्तरीमा सुरु भएको मधेश प्रदेशस्तरीय यू–१९ तथा सिनियर महिला छनोट टी–२० क्रिकेट प्रतियोगितामा बिहीबार सिरहा र धनुषाले विजयी सुरुवात गरेका छन्। राजविराजस्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको मैदानमा भएको पहिलो खेलमा सिरहाले आयोजक सप्तरीलाई १३ रनले पराजित गर्‍यो भने दोस्रो खेलमा धनुषाले सर्लाहीमाथि १२० रनको फराकिलो जित निकालेको हो।

सप्तरी क्रिकेट संघको आयोजनामा भइरहेको प्रतियोगिताको पहिलो चरणको खेलमा टस जितेर ब्याटिङ गरेको सिरहाले निर्धारित २० ओभरमा ९२ रन बनायो। सिरहाका लागि काजल साफीले २६, पुष्पा यादवले १८, अनुराधा चौधरीले १६ र अनु यादवले ११ रनको योगदान दिए।

बलिङतर्फ आयोजक सप्तरीकी वन्दना रजकले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिइन्। सुस्मिता यादवले २ विकेट हात पार्दा दीपाराम र साक्षी यादवले समान १–१ विकेट लिए।

९३ रनको लक्ष्य पछ्याएको सप्तरी १८ ओभर ४ बलमा ७९ रनमै समेटियो। सप्तरीका लागि साक्षी यादवले सर्वाधिक ३० रन बनाइन् भने सुस्मिता यादवले १० रन जोडिन्। सिरहाको बलिङमा अनुराधा चौधरी र स्वेता लामाले २–२ विकेट लिए। सरस्वती चौधरी, मीना महतो र प्रशिदीक्षा खड्काले समान १–१ विकेट हात पारे।

दोस्रो चरणको खेलमा धनुषाले सर्लाहीलाई एकतर्फी रूपमा पराजित गर्‍यो। टस जितेर पहिले ब्याटिङ गरेको धनुषाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रनको बलियो योगफल तयार पार्‍यो। धनुषाका लागि चन्द्रिका महतोले उत्कृष्ट ब्याटिङ गर्दै ७३ रन बनाइन्। रोजी खत्रीले ३६ रनको महत्वपूर्ण योगदान दिइन्।

सर्लाहीको बलिङतर्फ सरिश्मा खनाल र रानी साहले २–२ विकेट लिए भने अनुपा खड्काले १ विकेट हात पारिन्।

१६६ रनको लक्ष्य पछ्याएको सर्लाही १३ ओभर ४ बलमा ४५ रनमै अलआउट भयो। सर्लाहीका लागि अनुपा खड्काले १० रन बनाउनु बाहेक अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

धनुषाको जितमा मधु खड्काले प्रभावशाली बलिङ गर्दै ४ विकेट लिइन्। रोजी खत्रीले २ विकेट हात पार्दा रोशनी महरा र अनिषा यादवले समान १–१ विकेट लिए।

प्रतियोगिताले मधेश प्रदेशका यू–१९ तथा सिनियर महिला खेलाडीहरूलाई छनोट र प्रदर्शनको अवसर प्रदान गरेको छ। बिहीबारका नतिजासँगै सिरहा र धनुषाले प्रतियोगितामा आत्मविश्वासपूर्ण सुरुवात गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button