२१ जेष्ठ २०८३, बिहीबार

५८ पदकसहित राष्ट्रपति रनिङ शिल्डको उपाधि कैलालीलाई

डडेलधुरा – सुदूरपश्चिम प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कैलालीले जितेको छ। डडेलधुरामा सम्पन्न प्रतियोगितामा कैलालीले ३२ स्वर्ण, १७ रजत र ९ कास्य गरी कुल ५८ पदक हात पार्दै पहिलो स्थान हासिल गरेको हो।

४३ पदकका साथ कञ्चनपुर दोस्रो र ६ स्वर्ण, ७ रजत तथा १७ कास्यसहित ३० पदक जितेको आयोजक डडेलधुरा तेस्रो स्थानमा रह्यो। प्रतियोगितामा बैतडी चौथो, दार्चुला पाँचौँ, बझाङ छैटौँ, बाजुरा सातौँ, डोटी आठौँ र अछाम नवौँ स्थानमा रहे। कुल २३२ पदक वितरण गरिएको प्रतियोगितामा ६६ स्वर्ण, ६६ रजत र १०० कास्य पदक समावेश थिए।

प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले खेलकुद युवा प्रतिभा प्रस्फुटनको महत्त्वपूर्ण माध्यम भएको बताउँदै खेलकुद विकास र खेलाडी क्षमता अभिवृद्धिमा प्रदेश सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता जनाइन्।

जेठ १४ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ जिल्लाका खेलाडीले एथलेटिक्स, तेक्वान्दो, उस्सु, कराते, भलिबल र कबड्डीलगायत विधामा प्रतिस्पर्धा गरेका थिए। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई यही वर्ष हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि सिफारिस गरिनेछ। आयोजकका अनुसार प्रतियोगिताले प्रदेशभरका खेलाडीबीच आपसी सद्भाव, प्रतिस्पर्धात्मक भावना र खेल संस्कृतिको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button