२१ जेष्ठ २०८३, बिहीबार

सुलभ र आयुष स्मृति फुटबलमा ब्रदर्श, धम्बोझी र सगरमाथा विजयी

नेपालगञ्ज । जेञ्जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका नेपालगञ्ज धम्बोझीका युवा इञ्जिनियर सुलभ राज श्रेष्ठ र आयुष थापा मगरको स्मृतिमा जारी प्रथम यु–२० नाइन–ए साइड फुटबल प्रतियोगितामा आइतबार ब्रदर्श एफसी, आयोजक धम्बोझी क्लब र सगरमाथा स्कुल विजयी भएका छन्।

नेपालगञ्ज उपमहानगरपालिका–१ विशाल चोकस्थित एन्फा ग्रासरुट ट्रेनिङ सेन्टरमा भइरहेको प्रतियोगिताअन्तर्गत ब्रदर्श एफसीले रोलिङ लायन ‘ए’ लाई ३–० गोल अन्तरले पराजित गरेको हो। ब्रदर्शका लागि म्यान अफ द म्याच रविन्द्र अधिकारीले खेलको आठौँ मिनेटमा सुरुआती गोल गरे। त्यसपछि विधान विकले १२औँ मिनेटमा र सैलेन्द्र विसीले २३औँ मिनेटमा गोल गर्दै टोलीलाई सहज जित दिलाए।

अर्को खेलमा आयोजक धम्बोझी क्लबले अमरज्योति एफसीमाथि ५–० को फराकिलो जित निकालेको छ। धम्बोझीका महेश बुढाथोकीले उत्कृष्ट प्रदर्शन गर्दै चार गोल गरे। म्यान अफ द म्याच घोषित महेशले खेलको दोस्रो, सातौँ, दशौँ र २७औँ मिनेटमा गोल गर्दै जारी प्रतियोगितामा एउटै खेलमा सर्वाधिक गोल गर्ने खेलाडी बने। धम्बोझीका रोयल पुनले पाँचौँ मिनेटमा अर्को गोल थपेका थिए।

त्यसैगरी, सगरमाथा स्कुलले युनाइटेड स्कुललाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गरेको छ। निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि नतिजा पेनाल्टीबाट तय भएको हो। निर्धारित समयमा सगरमाथाका तर्फबाट तुषार विसी र मनोज परियारले गोल गरे भने युनाइटेडका लागि दिलिप थापा र सुदिप विकले गोल गरेका थिए।

प्रतियोगिताअन्तर्गत नवज्योति युवा क्लब र नेपालगञ्ज मोडेल एकेडेमीबीचको खेल भने विवादका कारण स्थगित भएको छ।

धम्बोझी क्लबको आयोजनामा भइरहेको प्रतियोगिता जेठ २१ गतेसम्म सञ्चालन हुनेछ। आयोजक क्लबका अध्यक्ष तारामान कुँवरका अनुसार प्रतियोगिताको विजेता टोलीले नगद ५१ हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेता टोलीलाई नगद ३१ हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button