ब्रदर्श एफसी, बैजनाथ युवा क्लब र हिमालयन सेमिफाइनलमा प्रवेश

नेपालगञ्ज । ब्रदर्श एफसी, बैजनाथ युवा क्लब र हिमालयन सामुदायिक क्लब प्रथम यू–२० (नाइन–ए साइड) फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्। प्रतियोगिताअन्तर्गत बुधबार हुने पहिलो सेमिफाइनल खेलमा बैजनाथ युवा क्लब र ब्रदर्श एफसीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्ने धम्बोझी र नुकिलपुर युवा समाजबीचको विजेताले बिहीबार हिमालयन सामुदायिक क्लबसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ।


जेन्जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका नेपालगन्ज धम्बोझीका दुई युवा इन्जिनियर सुलभराज श्रेष्ठ र आयुष थापा मगरको स्मृतिमा भइरहेको प्रतियोगिताअन्तर्गत ब्रदर्शले नवज्योति युवा क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ ले हरायो। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ विशाल चोकस्थित एन्फा ग्रासरुट ट्रेनिङ सेन्टरमा भइरहेको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो। पेनाल्टीमा ब्रदर्शका अभियान थापा, सुरज विष्ट, शैलेन्द्र विसी र नवराज भण्डारीले गोल गरे। नवज्योतिका लागि खगेन्द्र भण्डारी, प्रशान्त बस्नेत र अनिष तामाङले गोल गरे। खेलमा ब्रदर्शका गोलकिपर नितेश खड्का म्यान अफ द म्याच घोषित भए।


यसैगरी अर्को खेलमा बैजनाथ युवा क्लबले सगरमाथा स्कुललाई ६–२ ले सहजै हराउँदै सेमिफाइनलको यात्रा तय गर्यो। बैजनाथका विवेश चौधरीले १२औं मिनेटमा गोल गरी टोलीलाई अग्रता दिलाए। त्यसपछि खेलको म्यान अफ द म्याच दिवस तामाङले १७ र २२औं मिनेटमा तथा शिव टमाटाले २७ र ४०औं मिनेटमा गोल गरे। सगरमाथाका लागि एक आत्मघाती गोल भएको थियो भने अमित बोहोराले ३१औं र सुशान्त थापाले ३७औं मिनेटमा गोल गरे।


हिमालयन सामुदायिक क्लबले जय किसान स्पोर्टस क्लबलाई २–१ ले पराजित गर्यो। हिमालयनका लागि सागर बुढा र रेशम सुनारले ४१औं मिनेटमा गोल गरे भने जय किसानका दीपेश खत्रीले ३८औं मिनेटमा गोल गरे। खेलमा हिमालयनका सरुग थापा म्यान अफ द म्याच घोषित भए। अर्को खेलमा नुकिलपुर युवा समाजले भैयापुर एफसीलाई ३–१ ले पराजित गर्यो। नुकिलपुरका म्यान अफ द म्याच सुविन कार्कीले १६ र २६औं मिनेटमा गोल गरे भने हेमन्त ठगुन्नाले ३०औं मिनेटमा गोल गरे। भैयापुरका नितेश पुनले ४५औं मिनेटमा गोल गरे।


धम्बोझी क्लबको आयोजनामा भइरहेको प्रतियोगिता जेठ २१ गतेसम्म चल्नेछ। आयोजक धम्बोझी क्लबका अध्यक्ष तारामान कुँवरका अनुसार विजेता टोलीले ५१ हजार रुपैयाँ नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३१ हजार रुपैयाँ नगद, मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र हरेक खेलको प्लेयर अफ द म्याचलाई पनि पुरस्कृत गरिने उनले बताए।







