ब्रदर्श एफसी पहिलो यू–२० नाइन–ए–साइड फुटबलको फाइनलमा

नेपालगन्ज । जेन्जी सहिद ई. सुलभराज श्रेष्ठ र आयुष थापा मगरको स्मृतिमा आयोजित प्रथम यू–२० नाइन–ए–साइड फुटबल प्रतियोगिताको फाइनलमा ब्रदर्श एफसी प्रवेश गरेको छ। धम्बोझी क्लबको आयोजनामा नेपालगन्ज–०१ विशालचोकस्थित एन्फा ग्रासरुट ट्रेनिङ सेन्टरमा जारी प्रतियोगिताअन्तर्गत मङ्गलबार भएको सेमिफाइनल खेलमा ब्रदर्शले बैजनाथ युवा क्लबलाई २–१ गोलले पराजित गरेको हो।

ब्रदर्शको जितमा सुरज विष्टले एक गाेल र शैलेन्द्र बिसीले एक गाेल गरेर जम्मा दुई गोल गरे। विष्टले खेल सुरु भएको चार मिनेटमै गोल गर्दै टोलीलाई प्रारम्भिक अग्रता दिलाए भने दोस्रो हाफमा शैलेन्द्र बिसीले दोस्रो गोल गर्दै टोलीलाई सहज स्थितिमा पुर्याए। बैजनाथका लागि शिव टमाटाले ५०औं मिनेटमा एक गोल फर्काए पनि त्यो सान्त्वनामा सीमित रह्यो। खेलमा ब्रदर्शका गोलकिपर रितेश खड्का म्यान अफ द म्याच घोषित भए।

यसअघि मङ्गलबार नै भएको अन्तिम क्वाटरफाइनल खेलमा आयोजक धम्बोझी क्लबले निक्लीपुर युवा समाजलाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो। धम्बोझीको सहज जितमा रोयल पुनले १३औं मिनेटमा, पविन थारुले २३औं मिनेटमा र महेश बुढाथोकीले २७औं मिनेटमा गोल गरे। सो खेलमा धम्बोझीका सुदिप परियार म्यान अफ द म्याच चुनिए।
अब जेठ २१ गते हुने फाइनलमा ब्रदर्श एफसीले आयोजक धम्बोझी क्लब र हिमालयन सामुदायिक क्लबबीच हुने सेमिफाइनलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजित प्रतियोगिताको विजेता टोलीले नगद ५१ हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३१ हजार रुपैयाँ नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने धम्बोझी क्लबका अध्यक्ष कुँवरले जानकारी दिए। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र हरेक खेलको प्लेयर अफ द म्याचलाई पनि पुरस्कृत गरिने उनले बताए।





