महेन्द्र, कोशी मोडेल र आदर्श मावि एसईई कपको क्वाटरफाइनलमा प्रवेश

विराटनगर । महेन्द्र मावि, कोशी मोडेल स्कुल र आदर्श मावि विराटनगरमा जारी एसईई कप अन्तरविद्यालयस्तरीय रनिङ सेल फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
विराटनगरको परोपकारघाट मैदानमा बिहीबार भएको पहिलो खेलमा महेन्द्र माविले सत्यनारायण माविलाई २–१ गोलले पराजित गर्यो। महेन्द्रका लागि विवेक खड्काले दुई गोल गरे भने सत्यनारायणका सुमन राजवंशीले एक सान्त्वना गोल फर्काए।
दोस्रो खेलमा कोशी मोडेल स्कुलले सनसाइन स्कुल विराटनगरलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम आठमा स्थान बनायो। निर्धारित ४० मिनेटको खेल २–२ को बराबरीमा सकिएको थियो। सनसाइनका लागि सुशान्त फुयाँल र आदित्य माझीले गोल गरे भने कोशीका भेषराज माझीले एक गोल गर्दा अर्को गोल सनसाइनकै खेलाडीबाट आत्मघाती रूपमा भएको थियो। खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो।
तेस्रो खेलमा विराटनगरको आदर्श माविले सुनसरीको खनारस्थित सनसाइन खनारलाई १–० गोलले पराजित गर्यो। आदर्शका लागि कृष्ण यादवले निर्णायक गोल गरे।





