राष्ट्रपति रनिङ सिल्डमा बागमती फेरि च्याम्पियन

काठमाडौं । साबिक विजेता बागमती प्रदेशले १६ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको च्याम्पियन ट्रफी उचालेको छ।
शुक्रबार सम्पन्न तीनदिने प्रतियोगितामा बागमतीले २२ स्वर्ण, २१ रजत र १३ कांस्य पदकसहित समग्र उपाधि जितेको हो। प्रतियोगितामा सातै प्रदेशका ६ सय ८६ खेलाडीले एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराते र उसुमा प्रतिस्पर्धा गरेका थिए।
१९ स्वर्ण, ९ रजत र १४ कांस्य पदक जितेको सुदूरपश्चिम प्रदेश दोस्रो भयो। १२ स्वर्ण, १५ रजत र १८ कांस्यसहित लुम्बिनी प्रदेश तेस्रो स्थानमा रह्यो। गण्डकी प्रदेश ५ स्वर्ण, २ रजत र १८ कांस्यसहित चौथो, कोशी प्रदेश ४ स्वर्ण, ७ रजत र १७ कांस्यसहित पाँचौं, मधेश प्रदेश ३ स्वर्ण, ६ रजत र ६ कांस्यसहित छैटौं तथा कर्णाली प्रदेश २ स्वर्ण, ५ रजत र १२ कांस्यसहित सातौं स्थानमा रहे।
आयोजक राष्ट्रिय खेलकुद परिषद् प्रतियोगिता व्यवस्थापन तथा सञ्चालन समितिका सचिव मीनकुमार शर्माका अनुसार पदक विजेता खेलाडीलाई करिब १२ लाख रुपैयाँ पुरस्कार वितरण गरिएको छ। प्रतियोगिताको १७ औं संस्करण कोशी प्रदेशमा आगामी फागुन १९ देखि २२ गतेसम्म हुने भएको छ।
भलिबलतर्फ छात्रमा गण्डकी र छात्रामा बागमती प्रदेश च्याम्पियन बने। त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको छात्र फाइनलमा गण्डकीले लुम्बिनीलाई २०–२५, २४–२६, २५–२२, २५–१७ र १५–११ को सेटमा पराजित गर्यो। छात्रतर्फ सुदूरपश्चिम तेस्रो भयो। छात्रातर्फ बागमतीले लुम्बिनीलाई २१–२५, २२–२५, २५–१२, २५–२१ र १५–८ ले हराउँदै उपाधि जित्यो। कर्णाली तेस्रो स्थानमा रह्यो।
कबड्डीको छात्र र छात्रा दुवै उपाधि लुम्बिनी प्रदेशले जित्यो। लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छात्र फाइनलमा लुम्बिनीले बागमतीलाई ३७–३२ अंकले हरायो। छात्रातर्फ पनि लुम्बिनीले बागमतीलाई ३५–२९ ले पराजित गर्यो। छात्रमा कर्णाली र गण्डकी संयुक्त तेस्रो भए भने छात्रामा सुदूरपश्चिम र मधेश तेस्रो स्थानमा रहे।
उसुमा सुदूरपश्चिमले ६ स्वर्ण जित्दै वर्चस्व जमायो। १२ स्पर्धामा भएको प्रतिस्पर्धामा बागमतीले ३ स्वर्ण हात पार्यो भने गण्डकी, लुम्बिनी र कर्णालीले समान १–१ स्वर्ण जिते।
तेक्वान्दोमा बागमतीले ५ स्वर्ण जित्यो। १२ स्वर्णका लागि भएको प्रतिस्पर्धामा सुदूरपश्चिम र मधेशले समान २–२ स्वर्ण हात पारे। कोशी, गण्डकी र लुम्बिनीले १–१ स्वर्ण जित्दा कर्णाली स्वर्णविहीन रह्यो।
करातेमा कोशी प्रदेशले सर्वाधिक ३ स्वर्ण, ३ रजत र ३ कांस्य पदक जित्यो। लुम्बिनीले ३ स्वर्ण र ५ कांस्य तथा सुदूरपश्चिमले ३ स्वर्ण र ४ कांस्य हात पारे। बागमतीले २ स्वर्ण जित्दा मधेशले १ स्वर्ण प्राप्त गर्यो।
एथलेटिक्सतर्फ बागमतीले ११ स्वर्ण, ७ रजत र ५ कांस्य पदक जित्दै टिम च्याम्पियन ट्रफी उचाल्यो। २६ इभेन्टमा भएको प्रतिस्पर्धामा सुदूरपश्चिम ८ स्वर्ण, ३ रजत र ४ कांस्यसहित दोस्रो तथा लुम्बिनी ५ स्वर्ण, ९ रजत र ५ कांस्यसहित तेस्रो भयो। गण्डकीले २ स्वर्ण, २ रजत र ७ कांस्य तथा कर्णालीले १ स्वर्ण, २ रजत र ३ कांस्य जिते। कोशीले २ रजत र २ कांस्य जिते पनि स्वर्ण हात पार्न सकेन भने मधेश प्रदेश एथलेटिक्समा पदकविहीन रह्यो।





