महिला हकी उपाधि त्रिभुवन आर्मीलाई

विराटनगर । जिपी कोइराला फाइभ ए साइड महिला हकी च्याम्पियनसिपको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ।
विराटनगरस्थित सायस फुटसल एरिनामा शनिबार सम्पन्न फाइनल खेलमा आर्मीले गण्डकी प्रदेशलाई ५–३ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। उपाधिसँगै आर्मीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।
कोशी प्रदेशमा पहिलोपटक आयोजना गरिएको महिला हकी च्याम्पियनसिपको उपाधि जित्ने क्रममा आर्मीका लागि निलिमा पाण्डेले ह्याट्रिक गरिन्। उनले तीन गोल गर्दा सुनिता नेगीले दुई गोल थपिन्। गण्डकी प्रदेशका तर्फबाट मयुरी राईले दुई तथा सोनु बरालले एक गोल गरिन्।
प्रतियोगितामा आर्मीकी सविना केसी प्लेयर अफ द टुर्नामेन्ट घोषित भइन्। त्यस्तै, मधेश प्रदेशकी लक्ष्मनीयाँ दास उदयीमान खेलाडी घोषित भइन्।
च्याम्पियनसिप आयोजक जिपी कोइराला स्पोर्ट्स एकेडेमीका रञ्जन थापाका अनुसार उपविजेता गण्डकी प्रदेशले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।
प्रतियोगितामा घरेलु टोली कोशी प्रदेशसहित गण्डकी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी क्लब सहभागी थिए। विजेता टोली तथा उत्कृष्ट खेलाडीहरूलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्त अर्यालले पुरस्कार वितरण गरेका थिए।
उपाधि जितेको आर्मीले प्रतियोगिताका सबै चार खेलमा जित निकाल्दै अपराजित यात्रा पूरा गर्यो। गण्डकी प्रदेशले चार खेलमध्ये दुईमा जित, एकमा बराबरी र एकमा हार बेहोर्दै उपविजेतामा चित्त बुझायो। घरेलु टोली कोशी प्रदेश चार अंकसहित चौथो स्थानमा सीमित भयो।





