२४ जेष्ठ २०८३, आईतवार

इयू टी–२० लिगको पहिलो खेलमा नेपाली खेलाडी आबद्ध जेबी ब्रुग्स पराजित

ब्रसेल्स । बेल्जियममा पहिलोपटक आयोजना भइरहेको इयू टी–२० लिगमा तीन नेपाली खेलाडी सहभागी जेबी ब्रुग्सले प्रतियोगिताको सुरुआती खेलमा हार बेहोरेको छ।

शनिबार वर्षाले प्रभावित खेलमा जेबी ब्रुग्स एक्सल युनाइटेड ब्रसेल्ससँग डीएलएस पद्धतिअनुसार २७ रनले पराजित भएको हो। जेबी ब्रुग्सबाट नेपाली खेलाडी इशान पान्डे, गुल्शन झा र ललित राजवंशी मैदानमा उत्रिएका थिए।

पहिले ब्याटिङ गरेको जेबी ब्रुग्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५९ रन बनाएको थियो। टोलीका लागि लाहिरु मिलान्थाले सर्वाधिक ५१ रन जोडे भने निखिल चौधरीले ४७ रनको योगदान दिए। नेपाली खेलाडीमध्ये गुल्शन झाले २१ रन बनाए। इशान पान्डे भने १ रनमै आउट भए।

१६० रनको लक्ष्य पछ्याएको एक्सल युनाइटेड ब्रसेल्सले १२.५ ओभरमा ४ विकेट गुमाएर १२४ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो। लगातार वर्षा भएपछि खेल पुनः सञ्चालन हुन नसक्दा डीएलएस गणनाका आधारमा ब्रसेल्सलाई विजेता घोषणा गरिएको हो।

बलिङतर्फ नेपाली स्पिनर ललित राजवंशीले २.५ ओभरमा ३९ रन खर्चिए पनि विकेट लिन सकेनन्। वर्षाका कारण खेल बीचमै रोकिएपछि जेबी ब्रुग्सले पुनरागमनको अवसर पाएन।

जेबी ब्रुग्स नेपाल प्रिमियर लिग एनपीएलको फ्रेन्चाइज जनकपुर बोल्ट्ससँग आबद्ध ड्रीम स्पोर्ट्सको स्वामित्वमा रहेको टोली हो। यस टोलीमा नेपाली राष्ट्रिय टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी र ब्याट्सम्यान अनिल साह पनि अनुबन्धित छन्।

तर दीपेन्द्र राष्ट्रिय टोलीको जिम्मेवारीमा रहेकाले बेल्जियम पुगेका छैनन्। अनिल साह नेपाल ‘ए’ टोलीसँग व्यस्त रहेकाले प्रतियोगितामा सहभागी हुन सकेनन्। नेपाल ‘ए’ टोलीसँग भारतको उत्तराखण्ड भ्रमणमा रहेका ललित राजवंशी भने त्यहीँबाट बेल्जियम पुगेर जेबी ब्रुग्समा सामेल भएका हुन्।

पहिलो खेलमा पराजित भए पनि नेपाली खेलाडी सहभागी जेबी ब्रुग्सको प्रदर्शनलाई आगामी खेलहरूमा चासोका साथ हेरिनेछ। विशेषगरी गुल्शन झा र ललित राजवंशीजस्ता राष्ट्रिय टोलीका खेलाडीहरूको सहभागिताले प्रतियोगितामा नेपाली क्रिकेटप्रेमीको ध्यान तानेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button