ओमानलाई ८ विकेटले हराउँदै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान सिंगापुरमा सम्पन्न सेमिफाइनलमा ओमानलाई ८ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको ओमान १९.४ ओभरमा ९४ रनमा अलआउट भयो। ओमानका लागि कप्तान सुफ्यान महमुदले ३८, जुबाइर अली अकबरले २२ र अब्दुलजलिल खानले १६ रन बनाए। नेपालका करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट हात पारे। साहब आलम, कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए।
जवाफमा नेपालले ९५ रनको लक्ष्य ९.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि लोकेश बमले २६ बलमा ७ चौका र १ छक्काको मद्दतले ४४ रनको अविजित इनिङ खेले। कुशल भुर्तेलले २० र कप्तान रोहित पौडेलले २१ रनको अविजित इनिङ खेल्दै टोलीलाई सहज जित दिलाए।
नेपालले अब सोमबार हङकङ र मलेसियाबीचको दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। यसअघि नै सेमिफाइनल पुग्ने चारै टोली एसियाली खेलकुदमा छनोट भइसकेका छन्।





