एन्फा अध्यक्ष र महासचिवको मेक्सिको यात्रा रोकियो

काठमाडौं । फिफा विश्वकप २०२६ मा सहभागी हुन मेक्सिको जाने तयारीमा रहेका अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईको विदेश यात्रा रोकिएको छ।
अध्यक्ष नेम्बाङ र महासचिव राई जुन ११ बाट सुरु हुने फिफा विश्वकप २०२६ मा सहभागी हुन आजै राति मेक्सिको जाने तयारीमा थिए। तर, राष्ट्रिय खेलकुद परिषद् राखेपले उनीहरूको विदेश यात्रामा रोक लगाएको हो।
एन्फाभित्रको आर्थिक विषयमा छानबिनका लागि राखेपको सिफारिसमा अध्यागमन विभागले गत वैशाखमै एन्फाका सबै पदाधिकारीलाई विदेश जान रोक लगाएको थियो। सोही निर्णयका कारण नेम्बाङ र राईको मेक्सिको यात्रा रोकिएको जनाइएको छ।
राखेपले आर्थिक अनियमिततासम्बन्धी विषय छानबिनकै क्रममा रहेकाले एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा जान दिन नसकिने अडान लिएको छ।
यस घटनासँगै फिफा विश्वकप २०२६ मा नेपाली फुटबल नेतृत्वको प्रतिनिधित्वबारे अन्योल देखिएको छ। एन्फा पदाधिकारीमाथि लागेको विदेश यात्रा प्रतिबन्ध छानबिन प्रक्रिया पूरा नभएसम्म कायम रहने देखिएको छ।





