३० जेष्ठ २०८३, शनिबार

रूपन्देही क्रिकेट संघमा हरिबहादुर थापा पुनः निर्वाचित

भैरहवा । रूपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा हरिबहादुर थापा पुनः निर्वाचित भएका छन्। सोमबार भैरहवामा सम्पन्न संघको पाँचौँ अधिवेशनबाट थापा ६९ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी पूर्वक्रिकेटर शक्ति गौचनले ४९ मत प्राप्त गरे। थापा दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन्। चार वर्षअघि भएको निर्वाचनमा पनि गौचन थापासँग पराजित भएका थिए।

यसपटकको निर्वाचनमा थापा र गौचन पक्षले छुट्टाछुट्टै समूह बनाएर प्रतिस्पर्धा गरेका थिए। अधिवेशनबाट उपाध्यक्षमा खेमराज भुसाल, सचिवमा उदयकुमार मल्लिक र कोषाध्यक्षमा धीरज अधिकारी क्षत्री निर्वाचित भएका छन्।

त्यसैगरी महिला सदस्यमा उमा अधिकारी निर्वाचित भएकी छन्। अन्य सदस्यहरूमा प्रशान्तविक्रम मल्ल, निरजप्रताप खाँण, पुनित पोखरेल, मनोज भण्डारी, भुवन पाण्डे, विजयसिंह ज्ञवाली, कृष्णकुमार कुँवर, ज्वालेसप्रसाद प्रधान, अन्तिम थापा र ताराप्रसाद पाठक निर्वाचित भएको मतदान अधिकृत प्रकाश न्यौपानेले जानकारी दिए।

नयाँ नेतृत्व चयनसँगै रूपन्देही क्रिकेट संघले जिल्लामा क्रिकेट गतिविधि, खेलाडी विकास र संरचनागत सुधारका कामलाई अघि बढाउने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button