२९ जेष्ठ २०८३, शुक्रबार

इन्स्पायर इङ्लिस स्कुललाई जिल्लास्तरीय भलिबल उपाधि

विराटनगर । झापाको दमकस्थित इन्स्पायर इङ्लिस स्कुलले विराटनगरमा सम्पन्न अन्तरमाध्यमिक विद्यालय जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

बुधबार विराटनगरको भूमिप्रशासन चौकस्थित भूमिप्रशासन भलिबल कोर्टमा भएको फाइनल खेलमा इन्स्पायरले सुनसरीको इटहरीस्थित हाम्रो इङ्लिस बोर्डिङ स्कुललाई सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो।

एकपक्षीय बनेको फाइनलमा इन्स्पायरले पहिलो सेट २५–१६ ले जित्दै राम्रो सुरुआत गरेको थियो। दोस्रो सेटमा पनि उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै इन्स्पायरले २५–१५ को जित निकालेको थियो।

लगातार दुई सेट गुमाएको हाम्रो इङ्लिस बोर्डिङ स्कुल तेस्रो सेटमा पनि खेलमा फर्कन सकेन। तेस्रो सेटमा इन्स्पायरले २५–१२ को सहज जित निकाल्दै उपाधि सुनिश्चित गरेको हो।

उपाधिसँगै इन्स्पायर इङ्लिस स्कुलले शिल्डसहित १५ हजार रुपैयाँ प्राप्त गरेको छ।

जीपी कोइराला स्पोर्टस् एकेडेमीको आयोजनामा सम्पन्न प्रतियोगितामा मोरङको केराबारी गाउँपालिकास्थित केयु एकेडेमी तेस्रो भएको छ। तेस्रो स्थानका लागि भएको खेलमा केयु एकेडेमीले मोरङकै बुढीगंगा गाउँपालिकास्थित मोरङ पब्लिक स्कुललाई २५–२१, १६–२५ र २५–२१ को सेटमा हराएको हो।

आयोजक एकेडेमीका अध्यक्ष रञ्जन थापाका अनुसार प्रतियोगितामा इन्स्पायरका सन्विर श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए। त्यस्तै, इन्स्पायरकै विशाल गौतम उत्कृष्ट स्पाइकर र राजु श्रेष्ठ उत्कृष्ट प्रशिक्षक बने।

सनरे रंगेलीका शाहिल तबदार उत्कृष्ट ब्लकर घोषित भए भने हाम्रो इङ्लिस बोर्डिङका उसन कार्की उत्कृष्ट सर्भर बने। उत्कृष्ट सेटरको उपाधि राजीव खड्काले प्राप्त गरेका छन्।

प्रतियोगिताले विद्यालय तहका खेलाडीलाई प्रतिस्पर्धात्मक वातावरण प्रदान गर्दै भलिबल प्रतिभा पहिचान र विकासमा सहयोग पुर्‍याएको आयोजकले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button