३१ जेष्ठ २०८३, आईतवार

रञ्जु दर्शनाप्रति खुल्लापत्र : युवा सांसदको नेतृत्व विकास कसरी हुन्छ?

प्रिय रञ्जु दर्शना,

तपाईंको एउटा सानो अभिव्यक्तिले नेपाली राजनीतिमा ठूलो बहस जन्माएको छ। तपाईंले ‘संसदमा नयाँ नयाँ छौं, सांसदहरूलाई संसदीय अभ्यास सिक्न तालिम दिनुपर्छ’ भन्नुभयो। यति भन्नुभन्दा बढी तपाईंले अपराध गर्नुभएको थिएन। तर तपाईं ट्रोलको निसानामा पर्यौं। यो पत्र तपाईंको साहसको सम्मान गर्दै, तपाईंलाई प्रोत्साहित गर्न र एउटा गम्भीर प्रश्न सबैसामु राख्न लेखिएको हो।

जब नेतृत्व (प्रधानमन्त्रीदेखि पार्टी सभापतिसम्म) ले जथाभावी बोलिदिन्छन्, त्यसको असर प्रत्यक्ष तल्लो तहका नेता तथा युवा सांसदहरूमा पर्छ। तपाईंजस्ता सम्भावना बोकेका युवा सांसदहरू जनता र मिडियासँग जवाफ दिन नसक्ने अवस्थामा पुग्नुको एउटा कारण पार्टीभित्रको संस्थागत प्रणालीको कमजोरी पनि हो। सरकार र पार्टी नेतृत्वले युवा सांसदहरूमा आत्मविश्वास भर्नुपर्नेमा उल्टै उनीहरूलाई रक्षात्मक बनाइदिएको देखिन्छ।

तपाईंले सही भन्नुभयो – नयाँ सांसदहरूलाई संसदीय अभ्यास, कार्यप्रणाली, र नियमावलीबारे तालिम आवश्यक छ। यो कुनै लाजको विषय होइन, बरु प्रणालीको आवश्यकता हो। तर, नेपाली समाजको चरित्र नै नेतालाई प्रोत्साहन गरेर होइन, गाली गरेर आनन्द लिने मनोविज्ञानको छ। नजान्न त पाइन्छ, जन्मदै को जान्ने भएर आउँछ र ? तपाईंले ‘अलि जानिनँ मैले, अब सिक्छु म, सिकाउनुस् हामीलाई’ भनेर जति भन्नुभयो, त्यतिले तपाईंलाई अनावश्यक गाली खानु पर्यो।

तर, म एउटा थप कुरा भन्न चाहन्छु। तपाईं हामीलाई मन नपर्नु बेग्लै कुरा हो। म त यस्तो विचार राख्छु – सांसदहरूलाई तालिम र स्वकीय सचिव मात्र होइन, अलग्गै व्यक्तिगत कार्यालयसहित पर्याप्त सुविधा राज्यले दिनुपर्छ। तर, दुर्भाग्य, ‘रातो पासपोर्ट’ बोक्ने हैसियत भएका हाम्रा प्रतिनिधिले संसद खुलेको दिन मात्रै राज्यको कुर्सी पाउनु, अरु दिन कुर्सीसमेत नपाउनु बिडम्बना हो। जबकि वडाअध्यक्षले सिंगो घरको कार्यालय पाउँछन्। अनि, कुर्सी पनि नपाउने सांसदको नेतृत्व विकास कसरी हुन्छ ?

घानमा परेपछि तपाईंले सहनु नै पर्यो। तर, एउटा ऐतिहासिक पाठ यहाँ उल्लेख गर्नैपर्छ : २०६४ सालको निर्वाचनपछि माओवादीले झन्डै दुईतिहाइ बहुमत ल्यायो। तर नेतृत्वले गल्तीमाथि गल्ती गर्दै गयो। क्रान्तिकारी युवा नेताको बेलैमा ‘नेतृत्व विकास’ हुन नसक्दा र गराउन नसक्दा, कार्यकाल सकिएपछि ती मध्ये कोही खाडीतिर लागे, कोही भैंसी पाल्न लागे, कोही गोरखनाथतिर, कोही पशुपतिनाथ परिसरमा धर्मकर्ममा लागिरहेका छन्।

त्यो इतिहास नदोहोरियोस् भन्ने चाहना हो यो। तपाईंजस्ता आशा गरिएका, केही गर्छु भन्ने सोच भएका नेताहरू यो कार्यकालबाटै सकिनु हुँदैन। ‘पानी बाँड्ने केटा’ हरू ‘वासिङ मेसिन’ ले केही दिन चोखिएलान्, तर तपाईंजस्ता नेता भोलिका दिनमा ‘सेल बेचिरहेको’ अवस्थामा वा माओवादीका तत्कालीन युवा नेता झैं पशुपतिनाथतिर भेटिनु हुँदैन।

त्यसैले, आफूलाई सिक्न दिनुहोस्। तालिम लिनुहोस्। त्रुटि स्वीकार गर्नुहोस्, तर आत्मविश्वास नगुमाउनुहोस्। र, हामी जनता पनि तयार छौं – नयाँ नेतृत्वलाई मौका दिन, प्रोत्साहित गर्न र तालिमको माग राख्न।

केही त्रुटि भए यसलाई व्यक्तिगत रूपमा म लिन तयार छु। तर तपाईंको भविष्यप्रति मेरो चिन्ता साँचो हो।

– सङ्गित चन्द

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button