मुक्तिनाथका भारतीय तीर्थयात्री बागलुङका धार्मिक गन्तव्यतर्फ आकर्षित

ड्रागन मिडिया समाचार कक्ष
मुक्तिनाथ दर्शनका लागि नेपाल आउने भारतीय तीर्थयात्रीको सङ्ख्या बढेसँगै बागलुङका धार्मिक तथा पर्यटकीय गन्तव्यमा पनि चहलपहल बढेको छ।
मुक्तिनाथबाट फर्किने पर्यटकले बागलुङ कालिका मन्दिर, शालीग्राम सङ्ग्रहालय, पञ्चकोट र कालीगण्डकी नदीमाथि बनेको लामो झोलुङ्गे पुललगायतका स्थल भ्रमण गर्न थालेका छन्।
कालीगण्डकी करिडोरमार्फत भैरहवाबाट मुक्तिनाथ पुग्ने सडक सञ्चालनमा आएपछि तथा पोखरा आएका पर्यटक बागलुङतर्फ पनि आकर्षित हुन थालेपछि स्थानीय होटलमा भारतीय पर्यटकको उपस्थिति उल्लेख्य रूपमा बढेको छ।
भारतबाट आएका तीर्थयात्री आशुतोष नमादले बागलुङ कालिका मन्दिर, शालीग्राम सङ्ग्रहालय, पञ्चकोट र लामो झोलुङ्गे पुलको भिडियो बनाएर टिकटक तथा अन्य सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।
उनले मुक्तिनाथदेखि बागलुङसम्मका धार्मिक स्थललाई एउटै धार्मिक पर्यटन सर्किटका रूपमा विकास र प्रवर्द्धन गर्नुपर्ने धारणा व्यक्त गरे।
भारतको अयोध्याबाट आएका बालकृष्ण आचार्यले शालीग्राम सङ्ग्रहालयबाट आफू अत्यन्त प्रभावित भएको बताए।
“हामीले घरमा एक–दुईवटा शालीग्राम राखेर पूजा गर्दै आएका थियौँ। यहाँ विशाल सङ्ग्रहालयमै दर्शन गर्ने अवसर मिल्यो,” उनले भने, “हामी यस क्षेत्रको प्रचार गरेर थप तीर्थयात्रीलाई यहाँ आउन प्रेरित गर्नेछौँ।”
सङ्ग्रहालयमा करिब एक लाख १५ हजार शालीग्राम १५० मिटर लामो सुरुङभित्र व्यवस्थित रूपमा राखिएका छन्।
कालीगण्डकी नदीमा मात्रै पाइने शालीग्राम नदी दोहनलगायतका कारण दुर्लभ बन्दै गएपछि तिनको संरक्षण र धार्मिक महत्वबारे जानकारी दिन सङ्ग्रहालय स्थापना गरिएको हो।
शालीग्राम सङ्ग्रहालयका संरक्षक ऋषि प्रपन्नाचार्यका अनुसार औपचारिक तथ्याङ्क नराखिए पनि वार्षिक करिब एक लाख पर्यटकले सङ्ग्रहालय अवलोकन गर्ने गरेका छन्। तीमध्ये ३० हजारभन्दा बढी भारतीय पर्यटक रहेको अनुमान छ।
सात वर्षअघि स्थापना भएको सङ्ग्रहालय मुक्तिनाथ दर्शन गरेर फर्किने अधिकांश पर्यटकको प्रमुख रोजाइमा पर्न थालेको उनले बताए।
शुद्ध शाकाहारी भोजन रुचाउने तीर्थयात्रीका लागि स्थानीय होटलका साथै मुक्तिनाथ वेद विद्याश्रम पाठशालाको आश्रममा समेत बसोबासको व्यवस्था गरिएको छ।
मुक्तिनाथ भ्रमणमा आउने अधिकांश भारतीय पर्यटक सातदेखि १० दिनको प्याकेज यात्रामा नेपाल आउने र त्यसक्रममा एकदेखि डेढ दिन बागलुङमा बिताउने गरेका छन्।
भारतको मायापुरबाट आएका माधव हरिदासले शालीग्राम सङ्ग्रहालय भ्रमणबाट आध्यात्मिक शान्ति प्राप्त भएको अनुभव सुनाए।
“संसारका धेरै स्थान घुमेँ, तर एकै ठाउँमा यति धेरै शालीग्रामको दर्शन गर्ने अवसर पहिलोपटक पाएँ,” उनले भने।
प्रपन्नाचार्यका अनुसार भारतको केरल, आन्ध्र प्रदेश र गुजरातलगायतका राज्यबाट धेरै तीर्थयात्री बागलुङ आउने गरेका छन्।
पछिल्ला वर्षमा भारतका चर्चित कलाकार, व्यवसायी तथा नेपाल–भारत प्रवर्द्धनात्मक भ्रमणमा आएका प्रतिनिधिमण्डलले पनि बागलुङलाई आफ्नो भ्रमण सूचीमा समावेश गर्न थालेका छन्।
पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाले भारतीय पर्यटक बागलुङका धार्मिक तथा प्राकृतिक गन्तव्यप्रति आकर्षित हुँदै गएको बताए।
करिब पाँच सय वर्ष पुरानो इतिहास बोकेको बागलुङ कालिका मन्दिर र पञ्चकोट अहिले प्रमुख धार्मिक आकर्षणका रूपमा स्थापित हुँदै गएका छन्।
बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काका अनुसार कालीगण्डकी सभ्यता र यसको धार्मिक महत्वबारे जानकारी लिन चाहने पर्यटकको सङ्ख्या पनि बढ्दो छ।
भारतबाट आउने तीर्थयात्रीले जनकपुर, लुम्बिनी, पशुपतिनाथ र मुक्तिनाथसँगै शालीग्राम सङ्ग्रहालयलाई पनि यात्राको महत्वपूर्ण गन्तव्य बनाउन थालेका छन्।
गण्डकी प्रदेश सरकारले मुक्तिनाथ, बागलुङ कालिका र पञ्चकोट क्षेत्रलाई धार्मिक पर्यटन सर्किटका रूपमा विकास गर्ने योजना बजेटमार्फत सार्वजनिक गरेपछि स्थानीय व्यवसायी र समुदायमा थप उत्साह बढेको छ।
बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनकुमार शाक्यले पर्यटन स्थानीय समृद्धिको प्रमुख आधार बन्न सक्ने बताए।
“पर्यटक बढे स्थानीय उत्पादनको माग बढ्छ र किसानको आम्दानी पनि वृद्धि हुन्छ,” उनले भने।
उनका अनुसार पर्यटकमैत्री वातावरण निर्माण, सरसफाइ सुधार तथा पर्यटकको रुचिअनुसारका सेवा र परिकार विकास गर्न स्थानीय तह र निजी क्षेत्रले पहल गरिरहेका छन्।





