चिया–घोडा मार्गदेखि आधुनिक राजमार्गसम्म: युनान–सिजाङ सडकको ५० वर्ष

ड्रागन मिडिया समाचार कक्ष
चीनको दक्षिणपश्चिमी सीमावर्ती भूभागलाई जोड्ने महत्त्वपूर्ण युनान–सिजाङ राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको ५० वर्ष पूरा भएको छ। सन १९७६ जुलाई ६ मा औपचारिक रूपमा सञ्चालनमा आएको यो राजमार्गले युनानको तालीस्थित सियागुआनदेखि सिजाङ स्वायत्त प्रदेशको छाङतुस्थित माङखाङसम्मको ७१५ किलोमिटर दूरी जोडेको छ।
चिनियाँ भाषामा दियान–सिजाङ राजमार्ग भनिने यो सडकले हङतुआन पर्वत श्रृंखलाका उच्च हिमाली क्षेत्र, गहिरा उपत्यका र कठिन भौगोलिक अवरोध पार गर्दै युनान र सिजाङबीच आधुनिक यातायात सम्पर्क स्थापित गरेको हो। यसले दक्षिणतर्फ पुरानो युनान–म्यान्मार सडक र उत्तरतर्फ सछ्वान–सिजाङ राजमार्गसँग सम्पर्क कायम गर्दै चीनको दक्षिणपश्चिमी सडक सञ्जाललाई एकीकृत गरेको छ।


राजमार्ग निर्माण हुनुअघि युनान र सिजाङबीचको आवागमन मुख्यतः प्राचीन चिया–घोडा मार्गमा निर्भर थियो। व्यापारी तथा स्थानीय बासिन्दा मानिसको काँध र घोडा तथा खच्चडको सहायताले चिया, नुन, ऊन र अन्य वस्तु ओसार्थे। उच्च पर्वत, तीव्र बहाव भएका नदी र जोखिमपूर्ण गोरेटोका कारण एउटै यात्रा पूरा गर्न महिनौँ लाग्ने गर्थ्यो।
सन १९५० अगस्टमा चीनको केन्द्रीय नेतृत्वको योजनाअनुसार युनान प्रान्तीय सरकार र सैनिक निकायले राजमार्ग निर्माणका लागि विशेष संरचना गठन गरेका थिए। ठूला निर्माण उपकरणको अभावमा हजारौँ निर्माणकर्मीले फलामे छड, घन, कोदालो र अन्य सामान्य औजार प्रयोग गरी भीर र चट्टान काटेर सडक बनाएका थिए।


युनान प्रान्तीय यातायात विभागका अनुसार राजमार्ग पाँच खण्डमा विभाजन गरी निर्माण गरिएको थियो। करिब २३ वर्षको निरन्तर प्रयासपछि मुख्य मार्ग सन १९७३ नोभेम्बरमा जोडिएको थियो। त्यसको करिब तीन वर्षपछि सन १९७६ जुलाई ६ मा राजमार्ग पूर्ण रूपमा निर्माण सम्पन्न भई सञ्चालनमा आएको औपचारिक घोषणा गरिएको थियो।
निर्माणका क्रममा उच्च हिमाली चिसो, अक्सिजनको कमी, खाद्यान्न तथा औषधिको अभाव, पहिरो, हिमपात र कठिन भूगर्भीय अवस्थासँग निर्माणकर्मीले संघर्ष गरेका थिए। सयौँ निर्माणकर्मीले सडक निर्माणका क्रममा ज्यान गुमाएका थिए। उनीहरूमध्ये धेरैलाई तिछिङ र माङखाङ क्षेत्रमा रहेका तीनवटा सडक सहिद स्मारक क्षेत्रमा समाधिस्थ गरिएको छ।
पुराना निर्माणकर्मीमध्ये ८९ वर्षीय वु चुनसेङले शुरुआती चरणमा अधिकांश काम हातैले गर्नुपरेको र निर्माण टोली महिनौँसम्म दुर्गम पहाडी क्षेत्रमा अस्थायी शिविर बनाएर बस्ने गरेको स्मरण गरेका छन्। सीमित खाद्यान्न, जोखिमपूर्ण विस्फोटन कार्य र कठोर मौसमका बीच निर्माणकर्मीले सडक विस्तार गरेको उनको भनाइ छ।
सञ्चालनमा आएपछि युनान–सिजाङ राजमार्ग निरन्तर स्तरोन्नति गरिएको छ। सन १९९० देखि २०१० सम्म सम्पूर्ण मार्गमा कालोपत्र गरी यसलाई तेस्रो श्रेणीको मुख्य सडकमा रूपान्तरण गरिएको थियो। सन २०१० पछि साङ्ग्रिला–तेछिन दोस्रो श्रेणीको सडक र पाइमा हिमाल सुरुङ समूह सञ्चालनमा आएपछि मुख्य मार्गको ठूलो भाग दोस्रो श्रेणीमा स्तरोन्नति भएको छ। यसबाट हिमाली खण्डको यात्रा समय, मर्मत खर्च र मौसमी अवरोध उल्लेखनीय रूपमा घटेको छ।
राजमार्गसँगै ताली–लिचियाङ र साङ्ग्रिला–लिचियाङ द्रुतमार्ग निर्माण भएपछि उत्तरपश्चिमी युनानको सडक सम्पर्क थप सुदृढ भएको छ। साङ्ग्रिला–लिचियाङ द्रुतमार्ग सन २०२१ मा पूर्ण सञ्चालनमा आएको थियो। यसको निर्माणपछि दुई शहरबीचको सडक यात्रा समय करिब चार घण्टाबाट डेढ घण्टासम्म घटेको युनान यातायात विभागले जनाएको छ।
सन २०२३ नोभेम्बरमा १३९.७ किलोमिटर लामो लिचियाङ–साङ्ग्रिला रेलमार्ग सञ्चालनमा आएपछि तिछिङ तिब्बती स्वायत्त प्रिफेक्चर पहिलोपटक राष्ट्रिय रेल सञ्जालमा जोडिएको थियो। यससँगै पुरानो एकल सडक मार्ग बहुस्तरीय सडक, द्रुतमार्ग र रेल सञ्जालमा रूपान्तरण भएको छ।
सडक सञ्जालको विस्तारले पर्यटन, कृषि, होटल, ग्रामीण व्यवसाय र मालवाहक यातायातलाई नयाँ गति दिएको छ। सिन्ह्वाका अनुसार साङ्ग्रिलाको प्राचीन शहरमा सन २०१२ मा दुईवटा मात्र युवा छात्रावास रहेकामा अहिले नौ सय ८० भन्दा बढी मध्यम तथा उच्चस्तरीय होमस्टे र आवासीय व्यवसाय सञ्चालनमा छन्। सहज यातायातका कारण पर्यटकको बसाइ अवधि र स्थानीय उपभोगसमेत बढेको छ।
राजमार्ग किनारका गाउँमा अङ्गुर खेती, वाइन उत्पादन, विशेष कृषि, स्थानीय भोजन, क्याम्पिङ र सांस्कृतिक पर्यटनजस्ता नयाँ व्यवसाय विकास भएका छन्। पहिले यात्रुहरू केही समय विश्राम गरेर मात्र अघि बढ्ने गाउँ तथा बजार अहिले आफैँमा पर्यटन गन्तव्य बनेका छन्। सडकले ग्रामीण श्रमिकलाई स्थानीय रोजगारी उपलब्ध गराउनुका साथै उत्पादनलाई शहर र बाह्य बजारसम्म पुर्याउने आधार विस्तार गरेको छ।
युनान–सिजाङ राजमार्गले हान, पाइ, यी, नासी, तिब्बती र लिसु जातिसहित विभिन्न समुदायका बस्तीलाई जोड्दै जनस्तरीय सम्पर्क र सांस्कृतिक आदानप्रदान पनि विस्तार गरेको छ। युनान प्रान्तीय अधिकारीहरूले यसलाई यातायात पूर्वाधार मात्र नभई जातीय एकता, सीमा क्षेत्रको विकास र साझा समृद्धिलाई अघि बढाउने महत्त्वपूर्ण माध्यमका रूपमा चित्रण गरेका छन्।
पचास वर्षअघि हातका सामान्य औजारबाट काटिएको पहाडी सडक अहिले आधुनिक सुरुङ, पुल, द्रुतमार्ग र रेलसँग जोडिएको एकीकृत यातायात प्रणालीको आधार बनेको छ। युनान–सिजाङ राजमार्गको रूपान्तरणले पूर्वाधार विकासले दुर्गम भूगोल, स्थानीय अर्थतन्त्र र जनजीवनमा ल्याउन सक्ने दीर्घकालीन परिवर्तनलाई प्रतिबिम्बित गरेको छ।





