अनलाइन ठगीविरुद्ध थाइल्यान्डको कडा कारबाही, साढे तीन लाखभन्दा बढी बैंक खाता बन्द

ड्रागन मिडिया समाचार कक्ष
थाइल्यान्डका अधिकारीहरूले अनलाइन ठगी तथा अन्य आर्थिक अपराधमा प्रयोग भएका तीन लाख ५१ हजारभन्दा बढी शंकास्पद बैंक खाता बन्द गर्नुका साथै आपराधिक गतिविधिसँग जोडिएको तीन अर्ब ६० करोड भाटभन्दा बढी सम्पत्ति रोक्का गरेका छन्।
रोक्का गरिएको सम्पत्तिको मूल्य करिब १० करोड ७७ लाख अमेरिकी डलर बराबर रहेको थाई सरकारले सोमबार जनाएको छ।
अक्टोबर २०२५ देखि जुन २०२६ सम्मको अवधिमा अनलाइन ठगीमा संलग्न रहेको आरोपमा २९ हजारभन्दा बढी व्यक्ति पक्राउ गरिएको छ। आपराधिक सञ्जाल सञ्चालन गर्ने ७० भन्दा बढी मुख्य व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी गरिएको सरकारले जनाएको छ।
यस अवधिमा ८६२ जना पीडितलाई आवश्यक सहायता उपलब्ध गराइएको छ भने आठ करोड २० लाख भाटभन्दा बढीको सम्भावित आर्थिक क्षति हुनबाट रोकिएको छ। उक्त रकम करिब २४ लाख ५० हजार अमेरिकी डलर बराबर हो।
सरकारकी प्रवक्ता रत्चदा थानादिरेकले बैंक खाता बन्द गर्ने र सम्पत्ति रोक्का गर्ने कदम व्यक्तिगत अपराधीलाई पक्राउ गर्ने कार्यमा मात्र सीमित नरहेको बताइन्। उनका अनुसार सरकारले आपराधिक सञ्जालको आर्थिक आधार, पूँजी प्रवाह र वित्तीय कारोबारको श्रृंखला नै भत्काउने व्यापक रणनीति अपनाएको छ।
थाइल्यान्डको केन्द्रीय बैंकले आगामी अक्टोबरदेखि जोखिमयुक्त वित्तीय कारोबारमाथिको निगरानी थप कडा बनाउने भएको छ। नयाँ व्यवस्थाअनुसार ५० लाख भाटभन्दा बढी नगद जम्मा गर्दा रकमको श्रोत खुलाउनुपर्नेछ।
ठूलो परिमाणमा मुद्रा सटही गर्दा पनि स्पष्ट कारण प्रस्तुत गर्नुपर्ने व्यवस्था लागू गरिनेछ। उदाहरणका लागि एक हजार भाटका नोटमा रहेको एक करोड भाटलाई साना दरका नोटमा परिवर्तन गर्दा त्यसको प्रयोजन खुलाउनुपर्नेछ।
प्रवक्ता थानादिरेकका अनुसार ५० लाख भाट वा सोभन्दा बढी नगद झिक्दा अनिवार्य विवरण बुझाउनुपर्ने यसअघिको व्यवस्थाले ठूलो परिमाणको नगद निकासी करिब ३५ प्रतिशतले घटाएको छ।
वित्तीय कारोबारको निगरानी सुदृढ बनाइएपछि थप हजारौँ शंकास्पद बैंक खाता पहिचान गरी बन्द गरिएको सरकारले जनाएको छ।
थाइल्यान्डले पछिल्लो समय अनलाइन ठगी, अवैध रकम स्थानान्तरण तथा आपराधिक सञ्जालले अरूका नाममा खोलिएका बैंक खाता प्रयोग गर्ने प्रवृत्तिविरुद्ध वित्तीय तथा कानुनी कारबाही तीव्र बनाएको छ।





