१९ भाद्र २०८३, शुक्रबार

आगोको भूमिमा चिसोपानीका माछा उत्पादन

ड्रागन मिडिया समाचार कक्ष

चीनको उत्तरपश्चिमी सिन्चियाङ उइगुर स्वशासित क्षेत्रस्थित अत्यधिक गर्मीका लागि प्रसिद्ध तुरपान बेसिन अहिले साल्मन, पर्च र ट्राउटजस्ता चिसोपानीका माछा उत्पादनका कारण चर्चामा आएको छ।

चिनियाँ शास्त्रीय उपन्यास ‘पश्चिम यात्रा’ मा वानरराज सुन उखोङले तुरपानको अग्नि पर्वत शीतल बनाउन जादुयी पङ्खा मागेको कथा उल्लेख छ। यस वर्ष गर्मीमा तुरपानको तापक्रम ५० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ भने जमिनको सतहको तापक्रम ७० डिग्री सेल्सियससम्म पुग्ने गरेको छ।

यस्तो प्रचण्ड गर्मीबीच चिसोपानीका माछा उत्पादन सम्भव हुनुको मुख्य आधार करिब दुई हजार वर्ष पुरानो भूमिगत जलप्रणाली ‘कारेज इनार’ हो। यो प्रणालीका ठाडा इनारहरू भूमिगत जलमार्गसँग जोडिएका छन् र पानी अन्ततः खुला नहर तथा पोखरीसम्म आइपुग्छ।

दर्जनौँदेखि सयौँ किलोमिटरसम्म फैलिएका भूमिगत जलमार्गमा नजिकैको थ्यानशान पर्वतबाट पग्लिएको हिउँको पानी प्रवाहित हुन्छ। जमिनमुनि बग्ने भएकाले पानी प्रत्यक्ष घामबाट जोगिन्छ, वाष्पीकरण न्यून हुन्छ र वर्षभरि १५ देखि १९ डिग्री सेल्सियस तापक्रममा स्वच्छ तथा चिसो रहन्छ।

स्थानीय माछापालक सोङ चिचुनका अनुसार यस्तो तापक्रम चिसोपानीमा हुर्कने माछाका लागि अत्यन्त उपयुक्त छ। सामान्यतया २० डिग्री सेल्सियसभन्दा कम तापक्रम भएका उच्च भूभाग वा उत्तरी क्षेत्रमा पाइने प्रजातिलाई चिसोपानीका माछा मानिन्छ।

सोङले उत्तरपश्चिम चीनमा माग धेरै भए पनि माछापालक कम रहेको देखेपछि सन् २००६ मा व्यवसाय शुरु गरेका थिए। उत्तरी सिन्चियाङका पानीयुक्त क्षेत्रमा हिउँदमा पोखरी जम्ने भएकाले माछाको वृद्धि अवधि छोटिने समस्या थियो। त्यसपछि उनले विश्वकै सुक्खा र गर्मी क्षेत्रमध्ये एक भए पनि कारेज प्रणाली रहेको तुरपानलाई रोजे।

सन् २०२१ मा उनले अग्नि पर्वतको फेदीस्थित शानशान काउन्टीमा मत्स्य फार्म स्थापना गरे। प्राकृतिक भिरालो भूभागमा रहेको फार्ममा कारेजको निकासबाट पानी सीधै माछा पोखरीमा प्रवेश गर्छ। त्यहाँ रिभर पर्च, लार्जमाउथ बास र रेन्बो ट्राउट पालन भइरहेको छ।

उत्तरी सिन्चियाङका प्राकृतिक तालमा बजारयोग्य आकारमा पुग्न पर्च माछालाई सामान्यतया तीन वर्ष लाग्छ। तुरपानमा भने पानीको तापक्रम स्थिर रहने भएकाले ती माछा १८ महिनामै बिक्रीयोग्य हुन्छन्।

चिसोपानीका माछाको मासु नरम र बजार मूल्य बढी हुने भएकाले किसानले तुलनात्मक रूपमा राम्रो आम्दानी गरिरहेका छन्। सोङका अनुसार एक किलोग्राम पर्च उत्पादन गर्न करिब ३५ युआन खर्च हुन्छ भने बिक्री मूल्य ५५ युआनसम्म पुग्छ। यही नाफाका कारण अन्य किसान पनि यस व्यवसायतर्फ आकर्षित भएका छन्।

स्थानीय सरकारका अनुसार तुरपानमा उत्पादित माछा सांघाई, छिङताओ र सिआनलगायत चिनियाँ शहरमा पठाइनुका साथै विदेशी बजारमा समेत निर्यात हुन थालेका छन्। सन् २०२५ मा तुरपानको साल्मन र ट्राउट उत्पादन करिब एक हजार टन पुगेको थियो भने सन् २०२६ मा तीन हजार टन नाघ्ने अनुमान गरिएको छ।

कारेजको पानी माछापालनमा प्रयोग भएपछि खेर जाँदैन। माछा पोखरीबाट निस्किएको पानी नजिकका अङ्गुरबारीमा सिँचाइका लागि प्रवाह गरिन्छ। तुरपान अङ्गुर उत्पादनका लागि पनि विश्वप्रसिद्ध क्षेत्र हो।

स्थानीय कारेज साल्मन मत्स्य कम्पनीका उपप्रबन्धक चाङ च्याचिका अनुसार माछापालनपछि पानीमा नाइट्रोजन, फस्फोरस र पोटासियमजस्ता तत्व थपिन्छन्। पोषक तत्वयुक्त यही पानीले जमिनको उर्वरता बढाउनुका साथै अङ्गुरको वृद्धि र उत्पादनमा सहयोग पुर्‍याउँछ।

कारेज इनार प्रणालीलाई सन् २०२४ मा विश्व सम्पदा सिँचाइ संरचनाका रूपमा मान्यता दिइएको थियो। अहिले यो प्रणाली पर्यटकीय आकर्षणसमेत बनेको छ। प्रदर्शन क्षेत्रमा पुग्ने आगन्तुकले प्राचीन भूमिगत जल इञ्जिनियरिङ, यसको इतिहास तथा विभिन्न समुदायको संयुक्त शीपबारे जानकारी लिन सक्छन्।

सन् १८४० को दशकमा अफिम तस्करीविरुद्धको अभियानका लागि प्रसिद्ध चिनियाँ अधिकारी लिन चस्यु तुरपान पुगेका थिए। उनले मध्य चीनमा प्रचलित ठाडो इनार खन्ने प्रविधिलाई स्थानीय परम्परासँग संयोजन गर्दै नयाँ कारेज इनार निर्माणको काम अघि बढाएका थिए।

पुस्तौँदेखि संरक्षण र सुधार हुँदै आएको कारेज प्रणाली अहिले पानी आपूर्तिको माध्यममा मात्र सीमित छैन। यसले प्राचीन ज्ञानलाई आधुनिक पर्यावरणमैत्री कृषि, मत्स्यपालन र अङ्गुर उत्पादनसँग जोड्दै तुरपानका बासिन्दाका लागि दिगो समृद्धिको मार्ग खोलिरहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button