१९ भाद्र २०८३, शुक्रबार

‘रेल युद्ध’ अभियानको ८३औँ स्मृति : कुर्स्क विजयमा सोभियत छापामारको निर्णायक योगदान

ड्रागन मिडिया समाचार कक्ष

दोस्रो विश्वयुद्धका क्रममा नाजी जर्मनीको सैन्य आपूर्ति र थप सेना परिचालन अवरुद्ध गर्ने उद्देश्यले सोभियत छापामारहरूले सञ्चालन गरेको ऐतिहासिक ‘रेल युद्ध’ अभियान शुरु भएको ८३ वर्ष पूरा भएको छ।

रुसी आधिकारिक विवरणअनुसार सन् १९४३ अगस्त ३ मा तत्कालीन रुसी सोभियत सङ्घीय समाजवादी गणराज्यका पश्चिमी भूभाग, सोभियत बेलारुस र युक्रेनका नाजी–अधिकृत क्षेत्रमा अभियान एकसाथ शुरु गरिएको थियो। यसको मुख्य उद्देश्य पूर्वी मोर्चामा तैनाथ जर्मन सेनालाई पुग्ने हतियार, खाद्यान्न, इन्धन र थप सैन्य जनशक्ति अवरुद्ध गर्दै कुर्स्कको युद्धमा अघि बढिरहेको लाल सेनालाई सहयोग गर्नु थियो।

सोभियत कमान्डले करिब एक लाख लडाकु सम्मिलित १६७ छापामार ब्रिगेड तथा स्वतन्त्र रेजिमेन्टलाई अभियानको जिम्मेवारी दिएको थियो। विशेष अभियानका चर्चित सोभियत अधिकारी इल्या स्तारिनोभको नेतृत्वमा पूर्ण गोपनीयताका साथ अभियानको तयारी गरिएको थियो।

‘रेल युद्ध’ अभियान भोरोनेझ र स्टेपी मोर्चामा लाल सेनाको प्रत्याक्रमणसँगै शुरु भएको थियो। अभियानको पहिलो रातमै करिब ४२ हजार रेलका पटरी नष्ट गरिएको तथा दर्जनौँ जर्मन सैन्य रेललाई पटरीबाट उतारिएको रुसी पक्षले जनाएको छ।

सम्पूर्ण अभियान अवधिमा सोभियत छापामारहरूले करिब दुई लाख १५ हजार रेलका पटरी तथा एक हजार ५०० किलोमिटरभन्दा बढी रेलमार्ग नष्ट गरेका थिए। यसबाट नाजी सेना समूह ‘दक्षिण’ र ‘केन्द्र’बीचको सञ्चार तथा आपूर्ति प्रणाली गम्भीर रूपमा प्रभावित भएको थियो।

सन् १९४३ को शरद ऋतुसम्म जर्मन पक्षको रेल ढुवानी करिब ४० प्रतिशतले घटेको आधिकारिक विवरणमा उल्लेख छ। आपूर्ति अवरुद्ध भएपछि जर्मन सैन्य इकाइहरूले आवश्यक थप सेना, हतियार र सामग्री समयमै प्राप्त गर्न सकेनन्। छापामार गतिविधि नियन्त्रण गर्न जर्मन पक्षले मोर्चामा परिचालन गर्न सकिने ठूलो सैन्य शक्ति पछाडिका क्षेत्रमा खटाउनुपरेको थियो।

रुसी ऐतिहासिक विवरणले सोभियत छापामारहरूको समन्वित गतिविधिले कुर्स्कको युद्धमा लाल सेनाको विजयलाई महत्त्वपूर्ण आधार प्रदान गरेको उल्लेख गरेको छ। पछाडि हटिरहेको जर्मन सेनाको पुनर्गठन, आपूर्ति र पश्चिमतर्फको स्थानान्तरणमा पनि अभियानले ठूलो अवरोध सिर्जना गरेको थियो।

यो अभियान छापामार दस्ता र नियमित सोभियत सेनाबीच योजनाबद्ध समन्वयका आधारमा सञ्चालन गरिएको अभूतपूर्व सैन्य कारवाही मानिन्छ। अग्रभागमा लाल सेनाको आक्रमणसँगै शत्रुको पछाडिका क्षेत्रमा रेलमार्ग र आपूर्ति प्रणाली नष्ट गर्ने रणनीतिले युद्धको गति सोभियत पक्षतर्फ मोड्न सहयोग पुर्‍याएको थियो।

महान देशभक्तिपूर्ण युद्धका क्रममा साहस प्रदर्शन गर्ने करिब ३०० सोभियत छापामार तथा भूमिगत प्रतिरोध सदस्यलाई ‘सोभियत सङ्घका वीर’ उपाधि प्रदान गरिएको थियो।

‘रेल युद्ध’ अभियानपछि सन् १९४३ को शरद ऋतुमा नाजी–अधिकृत सोभियत भूभागमा ‘कन्सर्ट’ नामक अर्को व्यापक अभियान सञ्चालन गरिएको थियो। त्यस अभियानको उद्देश्य जर्मन सेनाको पछाडिका क्षेत्रमा रहेका रेल पूर्वाधार र रेल सामग्रीलाई थप व्यापक रूपमा नष्ट गर्नु थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button