परित्यक्त कोइला खानीको पानीबाट चीनमा पहिलो आवासीय केन्द्रीकृत शीतलन परियोजना

ड्रागन मिडिया समाचार कक्ष
चीनको च्याङ्सु प्रान्तस्थित स्युचौ शहरले परित्यक्त कोइला खानीमा सञ्चित पानी प्रयोग गरी देशकै पहिलो आवासीय केन्द्रीकृत शीतलन परियोजना सञ्चालनमा ल्याएको छ।
गर्मीको लहरका कारण शहरबाहिरको तापक्रम ३६ डिग्री सेल्सियस पुगेका बेला परियोजनामा जोडिएका आवासभित्रको तापक्रम करिब २६ डिग्री र आर्द्रता ५४ प्रतिशत कायम भएको सिन्ह्वाले जनाएको छ।
परीक्षण चरणमै रहेको प्रणालीबाट हाल करिब एक सय घरपरिवारले न्यून कार्बन उत्सर्जनयुक्त केन्द्रीकृत शीतलन सेवा प्राप्त गरिरहेका छन्।
परियोजनाअन्तर्गत परित्यक्त खानीभित्र वर्षभरि न्यून तापक्रममा रहने भूमिगत पानीलाई समुदायमा पहिले नै रहेको ताप प्रणाली र भुइँमुनि बिछ्याइएका पाइपमार्फत प्रवाह गरिन्छ। चिसो पानी पाइपमा घुम्दा घरभित्रको ताप क्रमशः सोसिन्छ र कोठामा समान रूपमा शीतलता फैलिन्छ।
स्युचौकी ७६ वर्षीया वाङ छिङमेइले करिब एक सय वर्गमिटर क्षेत्रफलको आफ्नो अपार्टमेन्टका लागि जुनदेखि सेप्टेम्बर अन्त्यसम्मको सम्पूर्ण शीतलन अवधिमा चार सय युआन अर्थात करिब ५९ अमेरिकी डलर मात्र तिरेकी छन्।
उहाँका अनुसार उक्त रकम यसअघि एयर कन्डिसनर चलाउँदा एक महिनामै लाग्ने विद्युत खर्च बराबर हो।
परियोजना प्रमुख चाङ थाओले भुइँमुनिका पाइपमा प्रवाह हुने चिसो पानीले विकिरणीय शीतलनमार्फत घरभित्रको ताप सोस्ने बताउनुभएको छ। परम्परागत एयर कन्डिसनरको तुलनामा यो प्रणाली शान्त, समान र सहज शीतलन प्रदान गर्ने उहाँको भनाइ छ।
गर्मीमा आर्द्रता बढी हुँदा कम तापक्रमका पाइपबाट भित्ता तथा भुइँमा पानी जम्न सक्ने समस्या समाधान गर्न अनुसन्धान टोलीसँगको सहकार्यमा विशेष आर्द्रता नियन्त्रण उपकरणसमेत विकास गरिएको छ।
यो प्रणालीमा बाहिरी कम्प्रेसर आवश्यक नपर्ने भएकाले शहरको तापद्वीप प्रभाव बढ्दैन। फ्लोरिनयुक्त रेफ्रिजरेन्टसमेत प्रयोग नहुने भएकाले वातावरणीय जोखिम कम हुने परियोजना टोलीले जनाएको छ।
परम्परागत शीतलन प्रणालीको तुलनामा यसले करिब ५० प्रतिशत ऊर्जा बचत गर्ने र प्रत्येक एक सय घरबाट वार्षिक रूपमा ५० टनभन्दा बढी कार्बनडाइअक्साइड उत्सर्जन घटाउने अपेक्षा गरिएको छ।
स्युचौमा परित्यक्त खानीका खाली संरचनाको आयतन ३० करोड ३० लाख घनमिटर र पानी भण्डारण क्षमता सात करोड ५० लाख घनमिटरभन्दा बढी रहेको छ। शहरले भविष्यमा यो प्रविधि थप आवासीय क्षेत्रमा विस्तार गर्ने योजना बनाएको छ।
चीनका विभिन्न शहरमा कार्यालय भवन, मेट्रो स्टेशन र पुस्तकालयजस्ता सार्वजनिक संरचनामा केन्द्रीकृत शीतलन प्रणालीको प्रयोग बढ्दै गएको छ। अधिकांश स्थानमा रातिको न्यून विद्युत मागका बेला बरफ उत्पादन गरी दिनमा त्यसबाट शीतलन गर्ने प्रविधि प्रयोग भइरहेको छ।
स्युचौको परियोजनाले भने निष्क्रिय औद्योगिक सम्पदालाई स्वच्छ ऊर्जा श्रोतमा रूपान्तरण गर्दै पृथक बाटो अपनाएको छ।
नानचिङ विश्वविद्यालय बिजनेस स्कुलका प्राध्यापक हान चियानले चीनका धेरै शहरमा परित्यक्त खानी र भूमिगत जलमार्ग रहेको उल्लेख गर्दै तिनलाई मौसमी ऊर्जा भण्डारण तथा एकीकृत ताप–शीतलन प्रणालीमा प्रयोग गर्न सकिने बताउनुभएको छ।
उहाँका अनुसार स्युचौको अभ्यासले प्रयोगविहीन औद्योगिक संरचनालाई न्यून कार्बन शहरी व्यवस्थापनका लागि दिगो श्रोतमा रूपान्तरण गर्ने महत्त्वपूर्ण नमुना प्रस्तुत गरेको छ।





