हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सफल

ड्रागन मिडिया सम्वाददाता
करिब साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगमा प्रारम्भिक परीक्षण उत्पादन सफल भएको छ। सरकारले उद्योगका पुराना यन्त्र मर्मत गरी परीक्षण उत्पादन गर्ने जिम्मेवारी नेपाली सेनालाई दिएपछि शनिबार कपडा बुन्ने तान सञ्चालन गरिएको हो।
नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयले उद्योग परिसर सरसफाइ, विद्युत प्रणाली सुधार तथा पुराना यन्त्र र तान मर्मत गरेपछि प्रारम्भिक परीक्षण गरेको हो। उद्योग पुनः सञ्चालनको तयारीका लागि निर्देशनालयका करिब ४० जना प्राविधिक तथा विभिन्न दर्जाका सैनिक विगत ४० दिनदेखि हेटौँडामा खटिएका छन्।
उत्पादन निर्देशनालयका एक सैनिक अधिकृतका अनुसार प्रारम्भिक परीक्षण सफल भए पनि उद्योगलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन अझै विभिन्न प्राविधिक तथा संरचनागत काम गर्न बाँकी छ। प्रारम्भिक परिणामले भने उद्योग पुनः सञ्चालन गर्न सकिने सम्भावना बलियो बनाएको उनले बताए।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामबन्धु सुवेदीले नेपाली सेनालाई दुई महिनाभित्र प्रारम्भिक उत्पादन परीक्षण गर्ने समय दिइएकोमा तोकिएको अवधिभित्रै काम सम्पन्न भएको बताए। परीक्षण सफल भएपछि उद्योगलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन सकिने आधार देखिएको उनको भनाइ छ।
प्रधानमन्त्री वालेन्द्र शाहका निजी सचिव प्रदीप परियारले पनि लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेका यन्त्र तथा तान मर्मतपछि सञ्चालनमा आएको जनाएका छन्। उद्योग परिसरमा करिब २४ वर्षपछि पुनः कपडा बुन्ने तानको आवाज सुनिन थालेको उनले उल्लेख गरेका छन्।
यसअघि उद्योग पुनः सञ्चालनसम्बन्धी अध्ययन कार्यदलले पहिलो चरणमा परीक्षण उत्पादन गर्ने र त्यसको नतिजाका आधारमा दीर्घकालीन सञ्चालनको योजना अघि बढाउने सुझाव सरकारलाई दिएको थियो। उद्योगभित्रको विद्युत प्रणालीको आवश्यक मर्मतसमेत सम्पन्न भइसकेको छ।
सरकारले गत असार १८ गते हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो। त्यसपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चालु आर्थिक वर्षभित्रै उत्पादन शुरु गर्ने उद्देश्यसहित आवश्यक तयारी अघि बढाएको हो।
उद्योगमन्त्री गौरीकुमारी यादवले रुग्ण सरकारी उद्योगमध्ये हेटौँडा कपडा उद्योगलाई पहिलो प्राथमिकतामा राखेर पुनः सञ्चालन गर्ने बताउँदै आएकी छन्। कपडा उद्योगसँगै बुटवल धागो कारखाना र कपास खेतीलाई समेत जोडेर स्वदेशी उत्पादनको श्रृंखला विकास गर्ने सरकारको योजना रहेको छ।
प्रारम्भिक रूपमा पुराना यन्त्र मर्मत र परीक्षण उत्पादनका लागि ३३ लाख रुपैयाँ आवश्यक पर्ने प्रस्ताव गरिएकोमा सरकारले ३० लाख रुपैयाँ उपलब्ध गराएको सहसचिव सुवेदीले बताएका छन्।
परीक्षण उत्पादन सफल भए पनि उद्योगलाई दीर्घकालीन रूपमा प्रतिस्पर्धी बनाउन नयाँ यन्त्र खरिद, पूर्वाधार सुधार र उत्पादन प्रणालीको आधुनिकीकरण आवश्यक हुने नेपाली सेनाका प्राविधिकहरूको प्रारम्भिक आकलन छ।
करिब दुई अर्ब प्रारम्भिक लगानीको अनुमान
सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा बन्द सरकारी उद्योग पुनः सञ्चालन गर्ने व्यवस्था गरिएपछि नेपाली सेनाले हेटौँडा कपडा उद्योगको विस्तृत सम्भाव्यता अध्ययन गरेको थियो।
उक्त अध्ययनले उद्योग पूर्ण रूपमा पुनः सञ्चालन गर्न प्रारम्भिक रूपमा करिब एक अर्ब ९३ करोड रुपैयाँ आवश्यक पर्ने र वार्षिक सञ्चालन खर्च करिब ७८ करोड रुपैयाँ हुने अनुमान गरेको थियो।
अध्ययनअनुसार उद्योग पुनः सञ्चालनमा आएको करिब नौ वर्षपछि प्रारम्भिक लगानी बराबरको लागत उठाएर नाफातर्फ जान सक्ने सम्भावना रहेको छ।
उद्योगसँग हाल १६६ रोपनी जग्गा तथा आधारभूत संरचना उपलब्ध छन्। विद्यमान केही भवन र यन्त्र मर्मत गरी पुनः प्रयोग गर्न सकिने अध्ययनको निष्कर्ष छ।
उद्योग सञ्चालनका लागि आवश्यक अधिकांश कच्चा पदार्थ देशभित्रै उपलब्ध गराउन सकिने तथा नेपाली सेना, प्रहरीलगायत सरकारी निकायलाई आवश्यक पोषाक उत्पादन गर्न सकिने भएकाले बजारको आधारसमेत सुनिश्चित गर्न सकिने देखिएको छ।
तीन वर्षे सञ्चालन योजना
नेपाली सेनाले उद्योग पुनः सञ्चालनका लागि यसअघि तीन वर्षे कार्ययोजनासमेत प्रस्ताव गरेको थियो।
त्यसअनुसार पहिलो चरणमा नीतिगत निर्णय, विस्तृत परियोजना प्रतिवेदन निर्माण तथा नयाँ यन्त्र छनोट र खरिद गर्ने, दोस्रो चरणमा पूर्वाधार र यन्त्र जडानसहित परीक्षण उत्पादन गर्ने तथा तेस्रो चरणमा क्षमता विस्तार गरी नियमित उत्पादनमा जाने योजना थियो।
त्यससँगै बुटवल धागो उद्योग पुनः सञ्चालनको सम्भाव्यता अध्ययन र आवश्यक कच्चा पदार्थ व्यवस्थापन गर्ने प्रस्तावसमेत समावेश थियो। तर राजनीतिक परिवर्तनलगायत कारण प्रारम्भिक कार्यतालिकाअनुसार काम अघि बढ्न सकेको थिएन।
चीनको सहयोगमा स्थापना भएको उद्योग
हेटौँडा कपडा उद्योग चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा विसं २०३२ मा स्थापना भएको थियो। उद्योगले विसं २०३५ देखि व्यावसायिक उत्पादन शुरु गरेको थियो।
राजनीतिक हस्तक्षेप, कमजोर व्यवस्थापन, बढ्दो आर्थिक दायित्व तथा प्रविधि समयअनुसार सुधार गर्न नसक्दा उद्योगको अवस्था क्रमशः कमजोर हुँदै गएको थियो।
विसं २०५६ देखि उत्पादन रोकिएको उद्योग विसं २०५७ पछि पूर्ण रूपमा बन्द भएको थियो। विसं २०५९ मा तत्कालीन सरकारले उद्योग पूर्ण रूपमा बन्द गर्ने औपचारिक निर्णय गरेको थियो।
बजार व्यवस्थापनको कमजोरी, पुरानो प्रविधि, विद्युत कटौती, आवश्यकताभन्दा बढी जनशक्ति र कमजोर व्यवस्थापकीय क्षमतालाई उद्योग बन्द हुनुका प्रमुख कारण मानिएको थियो।
करिब साढे दुई दशकपछि तान पुनः सञ्चालन भएर प्रारम्भिक कपडा उत्पादन सफल हुनु उद्योग पुनर्जीवनको महत्वपूर्ण पहिलो चरण मानिएको छ। उद्योग पूर्ण रूपमा सञ्चालनमा आए स्वदेशी कपडा उत्पादन बढाउन, सरकारी निकायको पोषाक माग देशभित्रै पूरा गर्न तथा आयातमाथिको निर्भरता घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।





