कास्कीको किम्रुङ खोलामा पहिरो खसेर खोला थुनियो, तटीय बस्तीलाई सुरक्षित स्थानमा जान आग्रह

ड्रागन मिडिया सम्वाददाता
कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा पहिरो खसेर खोला थुनिएको छ। खोला थुनिएपछि सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै प्रहरीले आसपासका बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार किम्रुङ खोलामा पहिरो खसेर करिब ६ घण्टादेखि पानीको बहाव अवरुद्ध भएको जानकारी स्थानीयबाट प्राप्त भएको हो। पहिरोका कारण खोलामा पानी जम्दै गएको हुन सक्ने भएकाले तल्लो तटीय क्षेत्रका बस्तीमा विशेष सतर्कता अपनाइएको प्रहरीले जनाएको छ।
खोला थुनिएको जानकारी पाएलगत्तै प्रहरीले कास्कीका नयाँपुल, वीरेठाँटी र आसपासका बस्तीमा माइकिङ गरी सम्भावित जोखिमबाट जोगिन तथा आवश्यक परे तत्काल सुरक्षित स्थानतर्फ जान स्थानीयलाई आग्रह गरेको छ।
“केही जनप्रतिनिधिले खोला थुनिएको खबर गरेपछि अहिले हामीले नदी किनारमा माइकिङ गरेका छौँ,” एसपी कार्कीले बताएका छन्।
किम्रुङ खोलामा यसअघि पनि पहिरो खसेर पानीको बहाव थुनिएको र पछि एक्कासी बाढी आएको घटना भएको थियो। सोही अनुभवलाई ध्यानमा राख्दै यसपटक सुरक्षा निकायले नदी तटीय क्षेत्रमा पूर्वसतर्कता बढाएको हो।
यसअघि किम्रुङ खोलामा आएको बाढीले वीरेठाँटी क्षेत्रमा सडक कटान गर्नुका साथै पुलसमेत बगाएको थियो। बाढीका कारण क्षेत्रको यातायात संरचनामा क्षति पुगेको थियो।
घान्द्रुक जाने सडक पनि बाढीका कारण अझै अवरुद्ध रहेको प्रहरीले जनाएको छ। सडक अवरुद्ध हुँदा स्थानीय बासिन्दा, पर्यटक तथा दैनिक आवतजावतमा समस्या भइरहेको छ।
पहिरोले थुनिएको खोला अचानक फुटेमा तल्लो क्षेत्रमा तीव्र बहाव आउन सक्ने जोखिम रहने भएकाले नदी किनार, पुल आसपास तथा होचा भूभागमा नबस्न स्थानीयलाई आग्रह गरिएको छ।
प्रहरी तथा स्थानीय तहका प्रतिनिधिहरूले अवस्थाको निगरानी गरिरहेका छन्। खोलाको बहाव, पहिरोको अवस्था र सम्भावित जोखिमबारे थप जानकारी संकलन भइरहेको प्रहरीले जनाएको छ।





