भोटेकोशी बाढीमा हराएका अर्जुनको परिवार अझै प्रतीक्षामा, “जिउँदै फर्किने आश मरेको छैन”

ड्रागन मिडिया सम्वाददाता
भदौ १० गते आएको भोटेकोशी बाढीमा सम्पर्कविहीन भएका दाङको राजपुर गाउँपालिका सिमलखुट्टीका ४० वर्षीय अर्जुन घर्ती मगरको अवस्था अझै अज्ञात छ। रसुवास्थित अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङमा कार्यरत अर्जुन हराएपछि उनको परिवार निरन्तर खोजी र प्रतीक्षामा छ।
बाढी आएको दिन बिहान करिब ७ बजे अर्जुनले परिवारसँग फोनमा कुराकानी गरेका थिए। काममा जानुअघि भएको उक्त संवादमा उनले बिहान ११ बजेतिर फेरि फोन गर्ने बताएका थिए। तर त्यसपछि भोटेकोशीमा बाढी आएपछि उनीसँगको सम्पर्क पूर्ण रूपमा टुट्यो।
अर्जुनको खोजीमा उनका दाइ रेगबहादुर प्रभावित क्षेत्रदेखि त्रिशूली र चितवनसम्म पुगे। उनले सम्भावित उद्धारस्थल र अस्पतालमा समेत खोजी गरे। चितवनका अस्पतालमा राखिएका शवसमेत हेरे पनि अर्जुनको कुनै पत्ता लाग्न सकेन। परिवारका लागि अहिले सबैभन्दा पीडादायी अवस्था यही छ—न जीवित रहेको खबर आएको छ, न मृत्युको पुष्टि भएको छ।
घरमा उनका बुवा खैराम घर्ती मगर हरेक नयाँ खबरको प्रतीक्षामा छन्। कोही नयाँ व्यक्ति घरतिर आए पनि उनी छोरा भेटिएको सूचना ल्याएको हो कि भन्ने आशा गर्छन्। कहिलेकाहीँ अर्जुन आफैं अचानक घर आइपुग्लान् भन्ने आशा पनि परिवारले अझै छाडेको छैन।
अर्जुनकी श्रीमती मनमलाका लागि बाढीपछिका दिन झन कठिन बनेका छन्। नियमित रूपमा फोन गरिरहने श्रीमानको आवाज एक्कासी बन्द भएपछि उनी दिनरात कुनै न कुनै खबरको प्रतीक्षामा छिन्। खोजीका अनेक प्रयास गर्दा पनि कुनै ठोस सूचना प्राप्त हुन नसकेको परिवारले जनाएको छ।
अन्य केही बेपत्ता व्यक्ति जीवितै फेला परेको समाचार सुन्दा परिवारमा फेरि आशा जाग्ने गरेको छ। मनमलाले अझै अर्जुन जीवितै भेटिने विश्वास त्यागेकी छैनन्। भोटेकोशी बाढीले धेरै परिवारलाई आफन्तको खोजीमा भौँतारिन बाध्य बनाएका बेला अर्जुनको परिवार पनि एउटा निश्चित खबरको प्रतीक्षामा दिन बिताइरहेको छ।





