दमकबाट ४१ ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ
ड्रागन मिडिया सम्वाददाता
झापाको दमकबाट प्रहरीले ठूलो परिमाणको लागूऔषध ब्राउन सुगरसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको विशेष प्रहरी टोलीले मंगलबार दिउँसो करिब १ बजे दमक नगरपालिका वडा नं. २ बाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्लास्थित बौकामजरफका १९ वर्षीय मोहमद फिरोज र सोही स्थानका २५ वर्षीय चन्द्रकुमार मण्डल रहेका छन्।
प्रहरीका अनुसार शंकास्पद अवस्थामा फेला परेका उनीहरूको खानतलासी गर्दा ४१.२३० ग्राम ब्राउन सुगर बरामद भएको थियो।
दुवै जना सीमापार लागूऔषध ओसारपसार तथा कारोबारमा संलग्न रहेको आशंकामा पक्राउ परेका हुन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।





