२४ भाद्र २०८३, बुधबार

रसुवागढी–केरुङ र तातोपानी नाका बन्द हुँदा कोरला हुँदै व्यापार बढ्यो, मुस्ताङ भन्सारमा राजस्व वृद्धि

ड्रागन मिडिया सम्वाददाता

भोटेकोशीमा आएको बाढीका कारण रसुवागढी–केरुङ नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरला नाका हुँदै हुने आयात बढेको छ। रसुवा र तातोपानी नाका एकैसाथ अवरुद्ध भएपछि मुस्ताङ भन्सार कार्यालय वैकल्पिक मार्गका रूपमा प्रयोग हुन थालेको र त्यससँगै राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ।

मुस्ताङ भन्सार कार्यालयका अनुसार भदौ १० देखि २३ गतेसम्म मात्रै ५६ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ। यस अवधिमा कोरला नाका हुँदै नेपाल प्रवेश गरेका ८८ वटा मालवाहक कन्टेनर र १३० वटा विद्युतीय सवारीको भन्सार जाँचपास गरिएको भन्सार प्रमुख विदुर चुडालले जानकारी दिए।

पछिल्लो समय कोरला नाकाबाट दैनिक १५ वटासम्म विद्युतीय सवारी र १० वटाभन्दा बढी मालवस्तु बोकेका कन्टेनर नेपाल भित्रिन थालेका छन्। रसुवागढी–केरुङ र तातोपानी नाकाको अवरोधपछि आयातकर्ताले कोरला नाकालाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न थालेका हुन्।

भन्सार प्रमुख चुडालका अनुसार चालु आर्थिक वर्षको साउनदेखि भदौ १० गतेसम्म मुस्ताङ भन्सारबाट १६३ वटा विद्युतीय सवारी र १३३ वटा मालवस्तु बोकेका कन्टेनरको जाँचपास गरिएको थियो। उक्त करिब ४० दिनको अवधिमा कार्यालयले ५२ करोड ८० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो।

भदौ १० यता व्यापारिक गतिविधि तीव्र भएपछि मुस्ताङ भन्सार कार्यालयको चालु आर्थिक वर्षको कुल राजस्व सङ्कलन एक अर्ब आठ करोड ८० लाख रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्ष २०८२/८३ मा मुस्ताङ भन्सार कार्यालयले कुल छ अर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो। हाल उत्तरी नाकामध्ये कोरला सञ्चालनमा रहेकाले त्यहाँबाट हुने मालवस्तु तथा विद्युतीय सवारीको आयात थप बढ्ने देखिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button