२६ भाद्र २०८३, शुक्रबार

भोटेकोशी बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहने : राजदूत चाङ माओमिङ

ड्रागन मिडिया सम्वाददाता

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको पुनरुत्थानमा चीनको सहयोग निरन्तर रहने बताएका छन्।

बाढीबाट भएको क्षति र प्रभावित बासिन्दाको अवस्था बुझ्न नुवाकोट पुगेका राजदूत माओमिङले बाढीपछिको असहज परिस्थितिलाई सहज बनाउन चीनले राहत सहयोग उपलब्ध गराउँदै आएको र पुनरुत्थानका चरणमा पनि आवश्यक सहयोग जारी राख्ने बताए।

उनका अनुसार खोज तथा उद्धार, राहत वितरण र होल्डिङ सेन्टर सञ्चालनमा चीन सरकारले सहयोग गरेको छ। साथै, चीनले नेपाल सरकारलाई थप २० लाख अमेरिकी डलर सहयोग उपलब्ध गराइसकेको उनले जानकारी दिए।

“बाढीबाट नेपालमा ठूलो जनधनको क्षति भएको छ। यसमा हामी अत्यन्त दुःखी छौँ,” राजदूत माओमिङले भने, “विद्यालय, सडक, आवासलगायत भौतिक संरचनामा पुगेको क्षतिको पुनरुत्थानका लागि नेपाल सरकारलाई आवश्यक सहयोग निरन्तर रहनेछ।”

राजदूत माओमिङले जिल्लास्थित विपद व्यवस्थापन समितिका पदाधिकारीसँग छलफल गरी बाढीबाट भएको क्षति, राहत तथा पुनरुत्थानको अवस्थाबारे जानकारी लिएका थिए।

त्यसपछि उनले विदुर नगरपालिका वडा नं. १ र १० का बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरे। उनले विदुर नगरपालिका वडा नं. २ स्थित कभर्डहलमा सञ्चालन गरिएको होल्डिङ सेन्टरको पनि निरीक्षण गरेका थिए।

होल्डिङ सेन्टरमा आश्रय लिइरहेका रसुवा र नुवाकोटका बाढी प्रभावित नागरिकसँग अन्तरक्रिया गर्दै राजदूत माओमिङले उनीहरूको बसोबास, खानपान, स्वास्थ्य अवस्था र आगामी आवश्यकताबारे जानकारी लिएका थिए।

बाढीपछिको तत्काल उद्धार र राहतसँगै पुनर्निर्माण तथा दीर्घकालीन पुनरुत्थानमा पनि चीनले सहयोग जारी राख्ने प्रतिबद्धताले नेपाल–चीन विपद सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button