कुशेऔँशी तथा पितृसम्मान दिवस आज मनाइँदै

ड्रागन मिडिया सम्वाददाता
वैदिक सनातन धर्मावलम्बीले आज कुशेऔँशी पर्व मनाउँदैछन्। प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने यस पर्वमा वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याउने परम्परा छ।
शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानको घरमा पुर्याइएको कुश राख्दा परिवारको कल्याण हुने धार्मिक विश्वास छ। प्रा. डा. देवमणि भट्टराईका अनुसार आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिन्छ भने अन्य दिन उखेलिएको कुश सोही दिन मात्र प्रयोग गर्नुपर्ने शास्त्रीय मान्यता छ।
सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीकका रूपमा मान्ने गर्छन्। धार्मिक मान्यताअनुसार सृष्टिकर्ता ब्रह्माले विवेकशील प्राणीसँगै पवित्र कुशको पनि उत्पत्ति गरेका हुन्। आज घरमा भित्र्याइएको कुश वर्षभर हुने पूजा, संस्कार तथा पितृकार्यमा प्रयोग गरिन्छ।
कुशेऔँशीकै अवसरमा आज पितृसम्मान दिवससमेत मनाइँदैछ। छोराछोरीले आफ्ना जीवित बाबुलाई मन पर्ने मिठाइ तथा भोजन खुवाएर आदर व्यक्त गर्ने र आशीर्वाद लिने परम्परा छ। यस दिनलाई बाबुको मुख हेर्ने दिनका रूपमा पनि चिनिन्छ।
बाबु दिवङ्गत भएकाहरूले विभिन्न पवित्र तीर्थस्थलमा पुगेर तर्पण, पिण्डदान, श्राद्ध तथा सिदादान गर्ने गर्छन्। विशेषगरी उत्तरगयाका रूपमा परिचित काठमाडौंको उत्तरपूर्वी क्षेत्रमा रहेको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा आज विशेष मेला लाग्ने गर्छ। यही कारण यस औँसीलाई गोकर्णे औँसीसमेत भनिन्छ।
गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्ने श्रद्धालुको ठूलो घुइँचो लाग्ने गर्छ। मेला व्यवस्थापनका सबै तयारी पूरा गरिएको गोकर्णेश्वर नगरपालिका वडा नं. ४ का अध्यक्ष तथा मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष जयराम महतले जानकारी दिएका छन्।
रसुवा र नुवाकोटको संगमस्थल वेत्रावतीमा पनि यस अवसरमा विशेष मेला लाग्ने परम्परा छ। यहाँ बाबु दिवङ्गत भएकाहरू तर्पण, सिदादान र पिण्डदान गर्न पुग्ने गर्छन्। यस वर्ष भने भोटेकोशी बाढीका कारण वेत्रावतीमा मेला आयोजना हुने वा नहुनेबारे अनिश्चितता रहेको जनाइएको छ।
‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुसार जीवित बाबुलाई श्रद्धापूर्वक सेवा गरी आशीर्वाद लिनु र दिवङ्गत बाबुको नाममा तर्पण तथा दान गर्नु पुण्यदायी मानिन्छ। धार्मिक ग्रन्थमा आजका दिन गरिने सानो दानसमेत अत्यन्त फलदायी हुने उल्लेख भएकाले कुशेऔँशीलाई महत्वपूर्ण पुण्य पर्वका रूपमा लिइन्छ।





